झापा । 

भारतमा हुन गइरहेको विधानसभा चुनावका लागि नेपाल र भारतको काँकरभिट्टा—पानीट्याँकी सीमानाका ७२ घण्टा बन्द गरिएको छ । विधानसभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपालसँग जोडिएका दार्जिलिङका सबै सीमा नाका बन्द गरिएको हो । काँकरभिट्टा पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ ।

भारतको पश्चिम बंगाल राज्यमा हुने विधानसभा चुनावको मतदान अवधिमा नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशमा उल्लेख छ । दार्जिलिङ जिल्ला प्रशासन अधिकारी एवम् जिल्ला निर्वाचन अधिकृत हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल सीमा मार्गहरू सोमवार (२० अप्रिल) साँझ ६ बजेदेखि बन्द भएको छ । उक्त प्रतिबन्ध मतदान सम्पन्न नभएसम्म लागू रहने जनाइएको छ । यसैबीच, भारतको पश्चिमबंगाल राज्यसँग सिमा जोडिएको झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर सिमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको हो । दार्जिलिङ जिल्लाअन्तर्गत पर्ने पाँच निर्वाचन क्षेत्रका मतदाताहरूलाई भने आवश्यक कागजातका आधारमा मतदान अवधिभित्र जिल्ला प्रवेश गर्न छुट दिइने जनाइएको छ ।

विधानसभाको चुनाव २३ अप्रिल २०२६ मा हुँदैंछ । स्थानीय प्रशासनले शान्तिपूर्ण र व्यवस्थित मतदान गर्न यस्तो कदम चालेको जनाएको छ । यद्यपि, केही अत्यावश्यक अवस्थाका लागि छुट दिइएको छ । आपतकालीन स्वास्थ्य सेवा आवश्यक परेका व्यक्तिहरूलाई सीमा पार गर्न दिइनेछ भने वैध कागजात भएका पर्यटक तथा भारतीय नागरिकलाई सम्बन्धित प्रक्रिया पूरा गरी आवतजावत गर्न अनुमति दिइनेछ ।

त्यस्तै, अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनलाई कडाइका साथ जाँच गरी सञ्चालन गर्न दिइनेछ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । नेपालसँग सीमा जोडिएका भारतीय नाका बन्द गर्ने विषयमा भने नेपालतर्फ कुनै छलफल नभए पनि जानकारीका लागि पत्र प्राप्त भएको र त्यसैका आधारमा आफूहरुले सर्वसाधारणलाई जानकारी गराएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।