झापा । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन म्यानपावर कम्पनीहरूलाई पुनः सचेत गराएको छ । विभागले छनोट प्रक्रिया उल्लंघन भएको पाइएमा कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ ।

विभागअन्तर्गतको वैदेशिक रोजगार श्रम स्वीकृति शाखाले मंगलबार सूचना जारी गर्दै इजाजतपत्र प्राप्त संस्था अर्थात् म्यानपावर कम्पनीहरूले कामदार पठाउँदा वैदेशिक रोजगार ऐन, २०६४ मा तोकिएका सबै प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ । ऐनको दफा १६ अनुसार पूर्वस्वीकृति प्राप्त भएपछि मात्र कामदार छनोट प्रक्रिया सुरु गर्न पाइने र त्यसका लागि नेपाली भाषामा प्रकाशित हुने राष्ट्रियस्तरका दैनिक पत्रिकामा कम्तीमा ७ दिनको म्याद राखेर विज्ञापन दिनुपर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ ।

त्यस्तै, दफा १७ अनुसार प्रकाशित विज्ञापनका आधारमा तोकिएको योग्यता, अनुभवलगायतका मापदण्ड पूरा गरेका व्यक्तिहरूमध्येबाट कामदार छनोट गर्नुपर्नेछ । दफा १८ अनुसार छनोट भएका कामदारको प्रवेशाज्ञा प्रक्रिया अघि बढाइने र प्रवेशाज्ञा प्राप्त भएपछि मात्र अन्तिम श्रम स्वीकृतिका लागि विभागमा कागजात पेस गर्नुपर्ने व्यवस्था रहेको पनि विभागले जनाएको छ ।

विभागका अनुसार म्यानपावर कम्पनीहरूले यी सबै प्रक्रिया पूरा गरेर मात्र कामदार छनोट, भिसा प्रक्रिया र अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । तोकिएको प्रक्रिया उल्लंघन भएको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।विभागले एक महिनाभन्दा बढी समयदेखि रोकिएको श्रम स्वीकृति मंगलबारदेखि पुनः खुला गरेको छ । साथै, कामदार भर्नाका लागि गरिने विज्ञापनदेखि छनोटसम्मको सम्पूर्ण प्रक्रियामा कडाइ गरिने पनि जनाएको छ ।

यसअघि नै विभागले वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरूलाई विज्ञापन प्रकाशन गर्दा अनिवार्य रूपमा स्पष्ट सम्पर्क विवरण उल्लेख गर्न निर्देशन दिएको थियो । तर पछिल्लो समय केही विज्ञापनमा आधिकारिक सम्पर्क व्यक्तिको नाम, फोन नम्बर र सम्पर्क ठेगाना स्पष्ट नभएको गुनासो आएको विभागले जनाएको छ ।

यस्ता समस्या बढ्दै गएपछि विभागले सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापनमा अनिवार्य रूपमा आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र ठेगाना उल्लेख गर्न आग्रह गरेको छ । साथै, संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रका लागि पूर्व स्वीकृति आवेदन गर्दा समेत सम्पर्क व्यक्तिको नाम, नम्बर र ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विभागले बताएको छ ।