झापा ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका–३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ वर्षीय विजय कुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका–५ का ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रवेश गुरूङ रहेका छन् ।
पक्राउ मध्ये सन्दिपले माल्टा पठाउने भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, निर बहादुरले क्रोएशिया पठाइदिने भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ, विजय कुमारले कतार पठाइदिने भन्दै १ जना पीडितबाट २ लाख २० हजार रूपैयाँ, चिरन्जिवीले क्यानडा पठाइदिने भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ र प्रवेशले मकाउ पठाइदिने भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको थिए ।
उनीहरुलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दिप र विजय कुमारलाई काठमाडौं महानगरपालिका–१२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट सोमबार, चिरन्जिवीलाई काठमाडौं महानगरपालिका–११ बाट र प्रवेशलाई काठमाडौं महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


















