शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाले तीन वडा वडामा अतिक्रमित सरकारी जग्गा खाली गर्ने भएको छ । नगरले नेपाल सरकारवाट स्वीकृत शासकीय सुधार सम्वन्धि १०० कार्यसूचीको बुँदा नं ९२ मा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने भएको हो ।
नगरले ‘नयाँ अतिक्रमण कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्ने’ उल्लेख भएको अवगतै भएको जनाउँदै आज (बिहीवार) नगरका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे एक सूचना जारी गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा स्थानीय तहले सार्वजनिक ऐलानी र पर्ती जग्गा सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षाका लागि आवश्यक व्यवस्था गर्नुपर्ने दायित्व तोकेको सूचनामा उल्लेख छ ।
यसै क्रममा अर्जुनधारा नगरपालिकाका नाममा दर्ता कायम भएका सरकारी जग्गाहरु अन्तर्गत अर्जुनधारा अर्जुनधारा –८ स्थित हाल शनिश्चरे बजारको सब्जी बजार, अर्जुनधारा–३ खुदुनावारी बनार पशुहाट र वडा नम्बर ७ गोसखान क्षेत्रको सरकारी जग्गामा समेत अनाधिकृत संरचनाहरु बनेको पाइएकोले नगर कार्यपालिकाकोबैशाख १७ गतेको बैठकबाट अतिक्रमित सरकारी जग्गा खाली गर्ने सम्बन्धमा भएको निर्णय बमोजिम सरकारी जग्गामा बनेका अनाधिकृत संरचनाहरु १५ दिन भित्र हटाई उक्त सरकारी जग्गा खाली गरिदिन अनुरोध गरिएको छ ।
तोकिएको अवधि भित्र उक्त सरकारी जग्गाहरु सम्बन्धित व्यक्तिवाट खाली नगरेमा प्रचलित कानून अनुसार आवश्यक कारवाही हुने जारी सूचनामा भनिएको छ । हाल शनिश्चरे बजारको खुला क्षेत्रमा सागसब्जी व्यवसाय गरिरहेका इच्छुक व्यवसायीहरुका लागि यस नगरपालिकावाट निर्मित नयाँ कृषि बजारमा सुपथ भाडादरमा सटर उपलब्ध गराइने समेत सूचनामा उल्लेख छ ।


















