झापा ।
वैदेशिक रोजगार विभागले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशनपछि अनिवार्य रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एपमा अपलोड गर्न निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै श्रम संसार एपमा अपलोड गर्न प्रकाशन दिएको हो ।
विभागले वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत प्राप्त संस्थाले पूर्व स्वीकृत प्राप्त भएपछि वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसको स्मरण गराउँदै अनिवार्य रूपमा श्रम मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एपमा समेत प्रकाशन गर्नुपर्ने जनाएको हो ।
श्रम मन्त्रालयले रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताहरूलाई एकै प्लेटफर्ममा जोड्ने उद्देश्यले श्रम संसार नामक एप सञ्चालन गरिरहेको छ । आन्तरिक र वैदेशिक रोजगारीका डिमान्ड र सूचना हेर्न सकिने एपभित्र ‘डोमेस्टिक’ र ‘फरेन’ गरी दुई विकल्प छन् । त्यसमा नेपाली र विदेशी रोजगारदाताहरूले कामको योग्यता, गर्नुपर्ने काम र अन्य आवश्यक विवरणहरू खुलाइएको सूचना राखेका हुन्छन् ।


















