बिर्तामोड ।
झापाका पत्रकार पुष्प खड्काले जन्मोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सहयोग गरेका छन् । बिर्तामोडको परिवेश मिडियाका सम्पादक पुष्प खड्का, पत्रकार महासंघ झापाका सदस्य तथा प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष समेत रहेका खड्काले जन्मोत्सवको अवसरमा आज मंगलबार ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
खड्काले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कार्यसमिति सदस्य बिनोद पाण्डेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको उक्त उपचार कोषको व्याजमार्फत जिल्लाका संचारकर्मीहरुको उपचारमा सहयोग प्रदान गर्दै आएको छ । अध्यक्ष गिरीका अनुसार हाल कोषमा १ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा महासंघ प्रदेश परिषद् सदस्य तुलसी निरौला, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल लगायतको सहभागिता थियो ।
आफूले झैं अरुले पनि जन्मोत्सव तथा अन्य अवसरमा पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित कोषमा सहयोग गर्न खड्काले आग्रह पनि गरेका छन् ।

















