बिर्तामोड ।
पूर्वको प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित बिर्तामोडमा साप्ताहिक बजार बन्दको विषय फेरि बहसको केन्द्रमा आएको छ । एकातिर सरकारले लागू गरेको आइतबार सार्वजनिक बिदाको व्यवस्था, अर्कोतिर बिर्तामोडमा वर्षौंदेखि कायम सोमबारको साप्ताहिक बजार बन्द– यी दुई व्यवस्थाले स्थानीय व्यापार, उपभोक्ता र श्रमिक व्यवस्थापनमा पारिरहेको प्रभावबारे व्यवसायीहरूबीच मतभेद देखिएको हो । यसैलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा अधिकांश व्यवसायीले अहिलेको परिस्थितिमा बजार बन्दको दिन पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको छलफलमा पूर्वअध्यक्ष, वस्तुगत संघ–संस्था, थोक तथा खुद्रा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । व्यवसायीहरूको धारणा मिश्रित देखियो । केहीले सोमबारकै बन्दलाई निरन्तरता दिनुपर्ने अडान राखे भने केहीले शनिवार सार्नुपर्ने माग गरे । अर्को समूहले भने प्रतिस्पर्धी बजारको अहिलेको संरचनामा सातै दिन बजार सञ्चालन हुनुपर्ने तर्क अघि सारे ।
‘तीन दिन लगातार असर’
व्यवसायीहरूले सरकारको आइतबार बिदा व्यवस्थालाई समेत जोडेर अहिलेको सोमबार बन्दले व्यापारमा असहज अवस्था सिर्जना गरेको बताएका छन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था आइतबार बन्द हुने, शनिबार त सार्वजनिक बिदा नै हुने र त्यसपछि सोमबार बिर्तामोड बजारसमेत बन्द हुँदा आर्थिक गतिविधि लगातार प्रभावित हुने उनीहरूको भनाइ छ ।
विशेषगरी बैंकिङ कारोबार, मालसामान ढुवानी, बिलिङ, सरकारी कागजी प्रक्रिया तथा थोक व्यापारमा यसको असर बढी देखिएको व्यवसायीहरूको तर्क छ । धेरै व्यापारीले दुई दिन सरकारी संयन्त्र बन्द र त्यसमा थप एक दिन बजार बन्द हुँदा कारोबारको चक्र नै प्रभावित हुने बताएका छन् ।
हार्डवेयर, डिलर तथा मुद्रण व्यवसायसँग आबद्ध व्यवसायीहरूले शनिबार बजार बन्द गर्नुपर्ने माग गरेका छन् । देशभर अधिकांश सरकारी तथा निजी क्षेत्र शनिबार नै आंशिक रूपमा सुस्त हुने भएकाले त्यही दिन साप्ताहिक बिदा उपयुक्त हुने उनीहरुको तर्क छ ।
कार्यक्रममा सहभागी मुद्रण उद्योग संघ, मेची डिष्ट्रिव्यूटर्स एशोसिएसन, हार्डवेयर व्यवसायी संघ झापा तथा क्यान झापाले संयुक्त रूपमा शनिबार बजार बन्द गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
यद्यपि, सबै व्यवसायीको धारणा एउटै छैन । कपडा तथा खुद्रा व्यवसायीहरूको ठूलो समूहले सोमबार बन्दलाई निरन्तरता दिनुपर्ने मत राखेको छ । उनीहरूका अनुसार बिर्तामोडमा वर्षौंदेखि सोमबार बन्दको अभ्यास रहँदै आएको छ र उपभोक्ताले पनि त्यसलाई स्वीकार गरिसकेका छन् ।
विशेषगरी सप्ताहन्तमा किनमेलको चाप बढी हुने भएकाले शनिबार बजार बन्द गर्दा खुद्रा व्यापारमा प्रत्यक्ष असर पर्ने उनीहरूको तर्क छ ।प्रसाई मार्केटले समेत सोमबारकै बन्दलाई निरन्तरता दिनुपर्ने मागसहित संघलाई ज्ञापनपत्र बुझाएको छ ।
‘बजार सातै दिन खुला हुनुपर्छ’
छलफलमा केही व्यवसायीले भने अहिलेको प्रतिस्पर्धी बजार संरचनामा कुनै पनि दिन बजार पूर्ण रूपमा बन्द गर्नु उपयुक्त नहुने धारणा राखे । अनलाइन व्यापार, सीमावर्ती बजार र ठूला शहरसँगको प्रतिस्पर्धाका कारण बिर्तामोडले ‘बन्द संस्कृति’ त्याग्नुपर्ने उनीहरूको भनाइ थियो ।
उनीहरूले कर्मचारीलाई आलोपालो बिदा दिने वा ओभरटाइम सुविधा उपलब्ध गराएर सातै दिन बजार सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । व्यवसायीहरूका अनुसार अहिले उपभोक्ताको खरिद व्यवहार पनि बदलिएको छ । बिदाको दिन किनमेल गर्ने प्रवृत्ति बढेकाले साप्ताहिक बन्दले ग्राहक अन्य बजार वा अनलाइन प्लेटफर्मतर्फ जान सक्ने चिन्ता उनीहरूले व्यक्त गरे ।
निर्णय साधारण सभाबाट
छलफलमा उठेका सुझाव तथा धारणा आगामी साधारण सभामा निर्णयार्थ पेश गरिने बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ।कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्र कुमार थापा, कुमार भट्टराई, वलराम कार्की, विशिष्ठ सदस्य निर्मल भट्टराई, व्यवसायीहरु सुरेश कुमार अग्रवाल भद्रपुरे, नारायण चिमरिया, पंकज मित्तल, वीरबहादुर दर्नाल, श्याम श्रीवास्तव, देवेन्द्र कुमार सिंह, गौरीशंकर गुप्ता, गोविन्द भुर्तेल, गजेन्द्र पौडेल, दिपेश पाठक, मोहन पाइम तथा मिक्की कार्की लगायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

















