सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–१ स्थित जामुनवारीका भीमबहादुर दर्जी र उनको परिवारले प्रहरी प्रशासनबाट असहयोग भएको आरोप लगाउँदै न्यायका लागि सरोकारवाला सवैमा आग्रह गरेका छन् । 

दर्जी परिवारले प्रहरीको हेल्च्याक्राईका कारण आफ्नो छोरा गुमानु परेको भन्दै न्यायका लागि सरोकारवालालाई गुहारेको हो । दर्जी परिवारले आज (बुधवार) निवासमा पत्रकार भेटघाटको आयोजना गरेर घटनाका बारेमा जानकारी दिएको छ । भीमबहादुरका २७ बर्षीय छोरा हेमन्त दर्जी (विशाल) ले गत बैशाख १ गते घरमै आत्महत्या गरेका थिए । बुहारी पूजा मोहरा दर्जीको परपुरुषसँग अनैतिक सम्बन्धका कारण छोरोले आत्महत्या गर्न बाध्य भएको दर्जी परिवारको आरोप छ । 

इजरालसँगै बस्दै आएका नाताले उनका काकाका छोरा कान्टु नामक केटाहरुले बुहारीमाथि अनैतिक कार्य गरेको भिडियो परिवारलाई पठाउने गरेको र उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न सुरुमा प्रहरी बिट दुर्गापुरमा जानकारी गराएको र त्यहाँबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा हुँदै इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पटक–पटक पुगेर निवेदन दिदासम्म प्रहरीले पक्राउ गरी अनुसन्धान नगरिदिदा भतिज बिशाललाई गुमाउनु परेको काका कैलाश नेपालीले जानकारी दिए । 

बिशाल कतारमै रहँदा दर्जी परिवारका सदस्यहरुलाई कान्टु नामक केटाले फोनमा मनपरी बोल्ने र बुहारीका अनैतिक भिडियोहरु पठाउने गरेको परिवारको भनाई छ । 

दर्जी परिवारले प्रहरी समक्ष आफ्ना समस्या जानकारी गराउँदा वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका बिशाललाई घर बोलाउन दवाव दिएको यदि नबोलाए इन्टरपोलमार्फत झिकाउने प्रहरीले धम्कीसमेत दिएको काका महेशले बताए । बिशाललाई गत माघमा परिवारले घर बोलाएको थियो । 

उनी घर आएसँगै कान्टु नामक केटाले बुहारीको अवैध गतिबिधिको भिडियो पठाउँने र मेरी श्रीमती हो र नानी पनि मेरै हो भनेर टचर दिने गरेको र प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान नगरेकै कारण छोरोले आत्महत्या गर्न बाध्य भएको परिवारको आरोप छ । 

हाल बुहारी बिदेशमा भएको र जसरी आफुहरुले निवेदन दिदा प्रहरीले छोरो बिदेशबाट झिकाउ लगायो त्यसरी नै बुहारीलाई पनि झिकाएर घटनाको बिषयमा छानविन गरी दोषीलाई कारवाही गर्न उनीहरुको माग छ । बिशाल र पूजाका ५ बर्षीया छोरीसमेत रहेकी र हाल उनी आफुसँगै रहेकी परिवारले बताएको छ ।