झापा ।
वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका अन्य देशका कामदारले अनुमति बिना कम्पनी छाडे कारवाही हुने भएको छ । मलेसियाको अध्यागमन विभागले आप्रवासी कामदारलाई अनुमतिबिना कम्पनी छाडे कारबाही हुने बताएकोजनाएको हो ।
अस्थायी वर्क परमिट पासले विदेशी नागरिकहरूलाई स्वीकृत क्षेत्रमा निश्चित अवधिका लागि मलेसियामा काम गर्ने अनुमति दिन्छ । विभागले यो अनुमतिपत्रको नियम कडाइका साथ पालना गर्न सबै विदेशी श्रमिकलाई आग्रह गरेको छ ।
विभागले रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्ने, अर्को ठाउँमा काम गर्ने, परिवारलाई अवैध रूपमा राख्ने, मलेसियामा विवाह गर्ने वा रोजगार पासको दुरुपयोग गर्ने कार्य कानुनविपरीत मानिने भएकाले त्यस्तो गतिविधि गरेको पाइएको कारवाही हुने बताएको छ ।
नियम उल्लंघन गर्ने विदेशी कामदारमाथि पक्राउ, हिरासत, जरिवाना, रोजगार पास रद्द तथा डिपोर्टसम्मको कारबाही हुन सक्ने विभागको चेतावनी छ ।


















