झापा । 

परराष्ट्र मन्त्रालयले दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी  ‘अनलाइन स्क्याम सेन्टर’मा फसाइएका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले थाइल्यान्डको सीमा क्षेत्रमा रहेका कम्बोडिया, म्यानमार, लाओसमा खोलिएका स्क्याम सेन्टरहरूमा ठगिएका नेपालीको पहिचान र उद्धार भइरहेको बताएका छन् ।

आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल तथा सम्बन्धित निकायको समन्वयमा यसअघि ६ सय १६ जना र पछिल्लो दुई सातामा थप ७१ जना गरी ६ सय ८७ जनाको उद्धार गरिएको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले हालसम्म म्यानमारबाट १ सय ११, कम्बोडियाबाट ५ सय ६२, लाओसबाट ८ र थाइल्यान्डबाट ६ नेपालीको उद्धार गरेर नेपाल फर्काइएको जनाएको छ ।