झापा ।
हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको र यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागमा अहिले साधारणतया बादल लागेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन्।
मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने बाँकी तराई भू(भागको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ।
सोमबारको मौसमलाई हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ। मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसम खराब हुन सक्छ। त्यस्तै मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस विपरीत पश्चिम नेपालका भू–भागमा भने गर्मीले जनजीवन प्रभावित बनाउने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन हुने तथा तराई भू–भागमा अत्यधिक गर्मीका साथ तातो लहर ‘लू’ चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


















