झापा । 

झापाको पूर्वी नाका काँकरभिट्टास्थित मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र  लागूऔषध ब्युरो ईकाई काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार दिनको ३ः१५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा काठमाडौंको महानगरपालिका–२५ स्थित असन चोकका ४० बर्षीय अजय चित्रकार र  काठमाडौंको महानगरपालिका– २३ स्थित ओमबाहल टोलका ३७ बर्षीय शुशिल मानन्धर रहेका छन् । 

भारतबाट नेपालतर्फ सिटि रिक्सा मार्फत आउँदै गरेका उनीहरुमाथि लागुऔषध ओसारपसार गरिरहेको शंका लागेर चेकजाँच गर्दा अजय चित्रकारको साथबाट लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध अर्थात खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ  प्लाष्टिक बाहेक १२  ग्राम ४२०मिलिग्राम फेला परेको थियो । 

उक्त लागुऔषधसहित उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।