भद्रपुर ।
वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगर समितिको अध्यक्षमा हुतराज नेपाल (उत्तम) सर्वसम्मत चयन भएका छन् ।झापाको भद्रपुर–६ मा रहेको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याआश्रमको सभाहलमा शनिबार भएको तेस्रो साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट नेपाल सहित ११ जनाको कार्यसमिति दुई वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिमा उपाध्यक्षमा पण्डित उदय खनाल (शास्त्री), सचिव खेमराज नेपाल(सविन), सह–सचिव पिताम्बर अधिकारी र कोषाध्यक्षमा खेमराज पौडेल सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा कमल नयन निरौला, मिलन कोईराला, कुमार खनाल, पुष्पराज न्यौपाने,निरज निरौला र विपिन सुवेदी सर्वसम्मत चयन भएको निर्वाचन संयोजक ऋषि नेपालले घोषणा गरेका थिए । सोही भेलाले नीलमणि नेपाल संयोजक रहने गरी ऋषि नेपाल र चन्द्रकान्त घिमिरेलाइ सल्लाहकारमा चयन गरेको थियो ।
हल्दीबारी–२ निवासी समाजसेवी कुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्ष नेपालले साङ्गठानिक र कोषाध्यक्ष चन्द्रकान्त घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समितिका जिल्ला सह–सचिव एकदेव भट्टराई नवीन, सचिव रामचन्द्र अधिकारी, समाजसेवी काशीनाथ घिमिरे, गुरुकुलका अध्यक्ष शान्ता बराल, भद्रपुर नगरकी उपमेयर राधा कार्की, समितिका केन्द्रीय अध्यक्ष राम ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी कार्यक्रममा नगर समितिका जेष्ठ सदस्य हरिश्चन्द्र आचार्य र गुरुकुलका संस्थापक अध्यक्ष गणेश प्रसाद भट्टराईलाई सम्मान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सनातन धर्म जन्मेकै ठाउँमा आजभोलि सनातन धर्मको रक्षा गर्न नितान्त एकजुट हुनुपर्नेमा जोड दिए ।
सह–सचिव पिताम्बर अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव उदय खनाल शास्त्रीले गरेका थिए भने धन्यवाद ज्ञापन समितिका सदस्य कमल नयन निरौलाले व्यक्त गरेका थिए । नगरभित्र हालसम्म एकसय जना गुरुहरु आबद्ध भइसकेको समितिले जनाएको छ ।


















