झापा ।

 युरोपेली मुलुक क्रोएसियामा नेपाली कामदारको संख्या बढ्दै गएपछि उनीहरूको सुरक्षाको माग बढ्दै गएको छ । हाल क्रोएसियामा ३१ हजार भन्दा बढी नेपाली कार्यरत रहेका छन् । हाल नेपालीहरू कन्सुलर सेवा प्राप्त गर्न अस्ट्रियाको भियनास्थित नेपाली नियोगमा निर्भर हुनुपर्ने बाध्यता रहेको छ । क्रोएसियामा नेपालीहरू निर्माण, पर्यटन, होटल तथा सेवा क्षेत्रमा काम गरिरहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वसचिव कर्णराज कटुवालले क्रोएसियामा नेपाली कामदारको हिस्सा महत्वपूर्ण विदेशी श्रमशक्तिका रूपमा स्थापित हुँदै गएको भएपनि नेपाली दूतावास नहुँदा त्यहाँ रहेका नेपाली नागरिकलाई सेवा–सुविधा लिन समस्या रहेको गुनासो दैनिक रूपमा आउने गरेको जानकारी गराए ।

नेपाल सरकारले तत्काल कूटनीतिक तथा श्रम व्यवस्थापनसम्बन्धी पहल अघि बढाउनुपर्ने आवाज बलियो बन्दै गएको भन्दै व्यवसायी कटुवालले क्रोएसियामा ३१ हजारभन्दा बढी नेपालीको वर्क परमिट जारी भइसकेको र भविष्यमा थप बढ्ने अनुमान गरिएको बताए ।क्रोएसियामा रहेका गैरआवासीय नेपालीहरूले नेपालीको संख्या बढेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूले भिसा नवीकरण, श्रम अधिकार संरक्षण, कानुनी सहायता, राहदानी सेवा, उद्धार तथा आपत्कालीन सहयोग प्राप्त गर्न विभिन्न कठिनाइ सामना गरिरहेको बताएका छन् ।

नेपाली समुदायले क्रोएसियासँग औपचारिक श्रम सम्झौता गर्न नेपाल सरकारसँग माग गरेका छन् । श्रम सम्झौताले नेपाली कामदारहरूको न्यूनतम पारिश्रमिक, कार्यस्थल सुरक्षा, स्वास्थ्य बीमा, आवास व्यवस्था तथा श्रमिक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गर्ने उनीहरूले बताएका छन् । व्यवसायी कटुवालले दूतावास स्थापना भएमा राहदानी नवीकरण, कानुनी परामर्श, श्रमिक समस्या समाधान, आपत्कालीन उद्धार तथा नागरिक सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको बताए ।

युवा, श्रम तथा रोजगार मन्त्रालय तथा परराष्ट्र मन्त्रालयले क्रोएसियाका सम्बन्धित सरकारी निकायसँग उच्चस्तरीय संवाद र समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकको हित, सुरक्षा र अधिकार संरक्षणमा विशेष ध्यान दिनुपर्ने पनि सरोकारवालाहरूको धारणा रहेको छ ।