बिर्तामोड । 

 ‘दिगो समृद्धिका लागि हरित लगानी’ भन्ने मुल नाराका साथ स्थापित झापाको बिर्तामोड–२ स्थित इष्टर्न सहारा कम्पनी लिमिटेडको विशेष साधारणसभा बुधबार सम्पन्न भएको छ ।

इन्भेष्टमेन्ट कम्पनीको रुपमा रहेको इष्टर्न सहाराका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको विशेष साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्तावलाई सर्वसम्मतरुपमा अनुमोदन गरियो । अब कम्पनीको पूँजी दुई अर्ब २० करोड रुपैयाँ हुने बताइएको छ । जसमध्ये एक अर्ब ७६ करोड संस्थापक शेयर र ४४ करोड सर्वसाधारणतर्फको शेयर हुने जनाइएको छ । 

कम्पनीको प्रबन्ध सञ्चालक कृष्ण रानाभाटले विशेष साधारणसभाको आवश्यकता र औचित्य सहित कम्पनीको गतिविधिबारे जानकारी गराएका थिए । आगामी पुससम्ममा कम्पनीले आइपीओ निष्काशन गर्ने अनुमान गरिएको छ ।  

कम्पनीकी सञ्चालक कल्पना विश्वकर्माले स्वागत गरेको सभामा सञ्चालकहरु गोपाल भट्टराई, पवनलाल राजवंशीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कम्पनीका शेयर सदस्य एकराज गिरीले गरेका थिए ।

सभामा अध्यक्ष गिरीले कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन परियोजनाहरुमा लगानी गरिरहेको र शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिने लक्ष्यका साथ अघि बढिरहेको बताए । अध्यक्ष गिरीले हाइड्रोपावर, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रमा कम्पनीले लगानी गरिरहेको बताएका छन् ।

कम्पनीले हरित हर्थतन्त्र, वातावरणीय संरक्षण र दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै अघि बढिरहेको बताउँदै गिरीले कम्पनीलाई नयाँ उचाइमा पु¥याउन सबैको निरन्तर साथ, सहयोग र विश्वास रहने अपेक्षा व्यक्त गरेका छन् ।

२०८२ पुस २७ गते तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको उक्त कम्पनी हाल आइपिओका लागि सेवनको पाइपलाइनमा रहेको छ । जतिसक्दो छिटो आइपिओ स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न कम्पनी अघि बढ्ने बताइएको छ । 

विशेषगरी हरित लगानीलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र खनिज उत्खनन् जस्ता बहुआयामिक क्षेत्रमा आफ्नो लगानी विस्तार गरिरहेको छ । सामाजिक र वित्तीय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूद्वारा सञ्चालित यस संस्थाले छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरी मुलुकको आर्थिक विकास र दिगो परियोजनाहरूमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

अध्यक्ष गिरीका अनुसार छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र र दिगो परियोजनामा लगानी गर्नु कम्पनीको मुख्य उद्देश्य हो । आईपीओ निष्कासनसँगै कम्पनी सार्वजनिक स्वामित्वमा प्रवेश गर्दैछ– अध्यक्ष गिरीले भने– यसले पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउनेछ । उनका अनुसार कम्पनीले हरित ऊर्जा र वातावरणमैत्री परियोजनामा लगानीमार्फत आर्थिक प्रतिफलसँगै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन योगदान गर्ने लक्ष्य लिएको छ । कम्पनीको बिर्तामोडमा मुख्य कार्यालय र काठमाडौंको बानेश्वर हाइटमा सम्पर्क कार्यालय रहेको छ ।