हल्दीवारी ।
झापाको हल्दीवारी–२ निवासी आरती राजवंशीको परिवारका लागि निर्माणाधीन घरको अवलोकन गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जेसीआई नेतृत्वको टोलीले स्थल भ्रमण गरेको छ।
जेसीआई हल्दीवारीको पहलमा सञ्चालन भइरहेको उक्त मानवीय अभियान अन्तर्गत निर्माण भइरहेको घरको अवलोकनका लागि जापानबाट अन्तर्राष्ट्रिय जेसीआईका उपाध्यक्ष सेन केन्गो सुजुकी, नेपाल जेसीआईका कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष, निवर्तमान कार्यकारी उपाध्यक्ष, राष्ट्रिय मुख्य प्रशिक्षक लगायत विभिन्न राष्ट्रिय पदाधिकारीहरूको उपस्थिती रहेको थियो।
टोलीलाई जेसीआई हल्दीवारीले स्वागत गर्दै आरती राजवंशीका बुबासँग भेटघाट तथा छलफलको समेत व्यवस्था गरेको थियो। सो अवसरमा निर्माणाधीन घरको स्थलगत अवलोकन गरी अभियानको प्रगति तथा आगामी योजनाबारे जानकारी आदानप्रदान गरिएको थियो।
कार्यक्रममा जेसीआई हल्दीवारीका अध्यक्ष जेसी नितेश खरेल, संस्थापक अध्यक्ष युनिता दवाडी, महासचिव अनिल चौहान, कानुनी सल्लाहकार जेसी योगेश कार्की, हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं. ४ का वडा सदस्य सुरेन्द्र बराकोटी तथा जेसीआई हल्दीवारीकी सल्लाहकार हीमा पौडेल लगायतको उपस्थिती रहेको थियो।
उक्त अवलोकन कार्यक्रम वि.सं. २०८३ साल जेठ १७ गते बेलुका ५ः३० बजे सम्पन्न भएको थियो। सहभागीहरूले जेसीआई हल्दीवारीले सञ्चालन गरिरहेको मानवीय अभियानको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व र सेवामूलक कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए।


















