झापा ।
झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान ट्ङ्ग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भारतीय नागरिक दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएको खुलेको छ। प्रहरी स्रोतका अनुसार मृतक तिवारी र आरोपितबीच घटनाअघि चिनजान रहेको देखिएको छ। अनुसन्धानबाट प्राप्त विवरणअनुसार आरोपितले दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा रमा तिवारीसँग दुई पटक शारीरिक सम्पर्क राखेका थिए। त्यसबापत प्रत्येक पटक एक हजार रुपैयाँ उपलब्ध गराएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि रकमको विषयलाई लिएर दुवैबीच विवाद भएको थियो।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार सोही विवाद उग्र बन्दै जाँदा आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेका थिए। हत्यापश्चात् घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखी दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि लगेर फालिएको अनुसन्धानबाट खुलेको छ।
गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो। शवको पहिचान भएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो। घटनापछि केही दिनसम्म प्रहरीले हत्याको कारण र संलग्न व्यक्तिबारे स्पष्ट निष्कर्ष निकाल्न नसकेको अवस्था रहेको थियो। जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धानका लागि प्राविधिक विश्लेषण, मोबाइल विवरण, स्थानीय सूचनालगायतका आधार प्रयोग गरेको जनाएको छ। अनुसन्धानको क्रममा संकलित प्रमाणका आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार घटनाको सम्पूर्ण विवरण, आरोपितको परिचय, पक्राउ प्रक्रिया तथा अनुसन्धानबाट खुलेका अन्य तथ्यहरू सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार सम्मेलनपछि सार्वजनिक हुने आधिकारिक विवरणका आधारमा घटनासम्बन्धी थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । करिव ३० वर्षीय उनी पण्डित थरका भारतीय नागरिक हुन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको सबै विवरण संकलन गरेको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


















