मेचीनगर । 

 रिदम नेपाल, मेचीनगर–९ खुटीडाँगीको आयोजनामा तथा मेचीनगर नगरपालिका वडा नं। ९ को आर्थिक सहयोगमा सञ्चालित तीनदिने कृषि अभिमुखीकरण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। असार ६, ७ र ८ गतेसम्म कवि शिरोमणि माध्यमिक विद्यालयको सभा हलमा सञ्चालन गरिएको तालिममा ७० जना सहभागी भएका थिए।

तालिमको उद्घाटन सत्र रिदम नेपालका अध्यक्ष रुद्रकुमार रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं। ९ का वडा सदस्य धनकुमार श्रेष्ठ सहभागी भएका थिए। अतिथिहरूमा समाज सुधार महिला समूहकी अध्यक्ष संगीता थापा, जानुका ओली, पवित्रा आचार्य तथा उद्धव बानियाँ रहेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार रमेश कुमार दाहालले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि तथा जैविक खेतीको प्रवर्द्धनका लागि यस्ता तालिम आवश्यक रहेको बताए।

तालिममा अगुवा किसान इन्द्र पाठक, धुलाबारी माध्यमिक विद्यालयका प्रशिक्षक डा। सन्तोष रोय तथा सहायक प्रशिक्षक निर्माणराज प्रसाईंले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा जैविक मल बनाउने विधि, अर्गानिक कृषि प्रणाली, कृषि उत्पादनको गुणस्तर सुधार तथा वातावरणमैत्री खेती प्रणालीका विषयमा सहभागीलाई व्यावहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो।

तालिमको मुख्य उद्देश्य अर्गानिक कृषि प्रणालीलाई जीवनोपयोगी बनाउँदै स्वस्थ, सुरक्षित र वातावरणमैत्री कृषि अभ्यासलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।

असार ८ गते सम्पन्न समापन कार्यक्रममा रिदम नेपालका अध्यक्ष रुद्रकुमार रोक्काको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ उपस्थित थिए। सहभागीहरूको तर्फबाट कृष्णप्रसाद बास्तोला र अनिता दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख अतिथि कञ्चनकुमार तामाङले कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न स्थानीय तहले यस्ता सीपमूलक तथा व्यवहारिक तालिमलाई निरन्तरता दिने बताए। उनले जैविक खेतीको प्रवर्द्धनले स्वास्थ्य, वातावरण र आर्थिक समृद्धिमा सकारात्मक योगदान पुग्ने उल्लेख गरे।

कार्यक्रमको सञ्चालन रिदम नेपालका सचिव झुलन रेग्मीले गरेका थिए। तीनदिने तालिम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजक संस्थाले प्रशिक्षक, अतिथि तथा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।