झापा । 

झापा जिल्लाका १५ वटै स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूको साझा जिल्लास्तरीय सञ्जालको बैठक तथा भेला कमल गाउँपालिकामा सम्पन्न भएको छ। हरेक दुई–दुई महिनामा सञ्जालको नेतृत्व परिवर्तन हुने व्यवस्थाअनुसार सञ्जालकी संयोजक कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेको अध्यक्षतामा बसेको बैठकले भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीलाई सञ्जालको नयाँ संयोजकमा सर्वसम्मत चयन गरेको छ। 

नयाँ संयोजक चयनसँगै बैठकले स्थानीय तहका असल अभ्यासहरू आदानप्रदान गर्ने र न्यायिक समिति तथा योजना अनुगमनका कामलाई अझ प्रभावकारी बनाउने विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै नयाँ नेतृत्वलाई कार्यभार सुम्पिएको छ। स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरूले सम्हाल्दै आएको न्यायिक निरूपण, बजेट तथा योजना अनुगमन र लक्षित वर्गका कार्यक्रमहरू सञ्चालनका क्रममा हासिल भएका अनुभव र सिकाइलाई एकापसमा साटासाट गरी स्थानीय सरकारलाई जनमुखी बनाउने उद्देश्यले यो सञ्जाल लामो समयदेखि क्रियाशील रहँदै आएको छ।

यस जिल्लास्तरीय सञ्जालमा झापाका १५ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरू प्रत्यक्ष रूपमा आबद्ध रहनुभएको छ। जसमा नवनिर्वाचित संयोजक एवं भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, निवर्तमान संयोजक एवं कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी रहेका छन् । 

यसैगरी अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी, बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडा, कचनाकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी खरेल, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलिया (कार्यबहाक अध्यक्ष), हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर  यस सञ्जालको सदस्यका रूपमा रहेका छन् ।  सञ्जालमा आबद्ध सबै सदस्यहरूले जिल्लाभरिका स्थानीय तहबीच आपसी समन्वय, न्याय सम्पादनमा एकरूपता र विकास निर्माणको अनुगमनलाई थप सुदृढ बनाउँदै लैजाने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यस साझा सञ्जालको बैठक तथा भेलाको नियमित सहजीकरण भने झापामा सामाजिक संवाद र समन्वयका क्षेत्रमा क्रियाशील संवाद समूहले गर्दै आएको छ।