झापा । 

झापाबाट लागू औषध सेवनकर्ता तथा कारोवार गर्ने ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मको समयमा शंकास्पद अवस्थामा हिडडुल गर्ने लागू औषध सेवनकर्ताहरु २९ जना  र लागु औषध खैरो हेरोईन प्लाष्टिक बाहेक १० ग्राम ११८ मिलिग्रामसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको ‘स्वीप अप्रेशन’ प्रहरी टोलीले झापा जिल्ला अन्तर्गत विभिन्न स्थानहरूमा स्वीप अप्रेशन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । 

लागू औषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनस्र्थापना केन्द्रमा पठाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी खैरो हेरोईनसहित अर्जुनधारा नगरपालिका–५ का ५०बर्षीय भरत मोहरा, कमल गाउँपालिक–७ का २७ बर्षीय सनम धिमाल र  कमल–६ का २० बर्षीय प्रदिप दास, हल्दीबारी गाउँपालिका–३ का प्रितम तामाङ, बिर्तामोड नगरपालिका–३ का २० बर्षीय सुनिल पासवान र सोही स्थानका २१ बर्षीय उदय पासवान र ईलामको सुर्योदय नगरपालिका–११ का ४५ बर्षीय रनधिर प्रधान पक्राउ परेका छन् । 

उनीहरुका साथमा रहेका नगदसहित बिभिन्न सामाग्रीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।