बिर्तामोड ।
युवा उद्यमीहरुको साझा संस्था नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ले झापा च्याप्टरको कार्यालय स्थापनासँगै बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा आर्थिक सहयोग गरेको छ । झापाको बिर्तामोडस्थित बिर्तामोड उद्योग बाणिज्य संघको कार्यालय भवनको माथिल्लो तलामा एनवाईइएफले बिहीवार झापा च्याप्टरको कार्यालय स्थापना गरेको हो ।
सोही अवसरमा एनवाईइएफले संघले स्थापना गरेको व्यवसायी राहत कोषमा एकलाख १६ हजार ६६६ रुपैयाँ सहयोग गरेको छ । संघले एक करोडको राहत कोषका लागि स्थापना गरेको कोषमा एनवाईइएफले उपलब्ध गराएको रकम अहिलेसम्मकै सवै भन्दा धेरै भएको संघले जनाएको छ ।
युवाहरुको ज्ञान र सीप प्रयोगमा ल्याएर युवाहरुलाई उद्यमी बनाउने उदेश्यले झापाका युवाहरुले एनवाईइएफको स्थापना गरेका थिए । एनवाईइएफको कार्यालय बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले उद्घाटन गरेका हुन् । एनवाईइएफ झापा च्याप्टरका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले एनवाईइएफसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले संघले व्यवसायीका लागि स्थापना गरेको राहत कोषमा सहयोग गरेको भन्दै युवा उद्यमीहरुको महान कार्यको प्रशंसा गरे ।
एनवाईइएफको कार्यालय उद्घाटनपछि संघको कार्यालयमा भएको कार्यक्रममा राहत कोषका लागि सहयोग रकम हस्तान्तरण गरिएको थियो । एनवाईइएफका अध्यक्ष गणेश पौडेल, उपाध्यक्ष मिजाश पोखरेल, एनवाईइएफका संस्थापक अध्यक्ष प्रवेश बस्नेतलगायत संघका पदाधिकारी तथा सदस्यहरुले संघका अध्यक्ष राजु न्यौपाने, बिशिष्ठ सदस्य निर्मल भट्टाराई, बरिष्ठ उपाध्यक्ष विशाल थापा, जीवन खड्का, महासचिव कुशल खतिवडालगायतलाई एक लाख १६ हजार ६६६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । संघले राहत कोषलाई सहयोग गरेको भन्दै कदरपत्रले सम्मानसमेत गरेको थियो ।
संघका महासचिव खतिवडाले उक्त रकम राहत कोषको सवैभन्दा ठूलो सहयोग भएको दावी गर्दै हाल राहत कोषमा करिव ४० लाख वढी रकम भएको र एक करोडको नभएसम्म सवै व्यवासायीहरुलाई आ आफ्ना जन्मदिन तथा वैवाहिक बर्षगाठमा गरिने फजुल खर्च कटाएर सहयोग गर्न सवै व्यवसायीहरुलाई आग्रह गरेका छन् ।


















