झापा । 

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल सामसीसँग रोजगारीका लागि युएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दुईपटक प्रमाणीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था हटाइदिन आग्रह गरेका छन् ।

बुधबार मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा मन्त्री यादवले उक्त आग्रह गरेका हुन् । भिसा प्रक्रियाका लागि भिएफएसमार्फत प्रहरी रिपोर्ट प्रमाणीकरण गराउँदा १४ हजार २ सय रुपैयाँ लाग्दै आएको छ । वैदेशिक रोजगार व्यवसायीले त्यसलाई अतिरिक्त शुल्क भन्दै नेपाल प्रहरीले दिएको असल चालचलनको रिपोर्ट पुनः प्रमाणीकरण गर्नु तर्कसंगत नभएको बताउँदै आएका छन् ।

उक्त विषयमा राजदूत अल सामसीले मन्त्री यादवको आग्रहलाई गम्भीरतापूर्वक विचार गरिने कूटनीतिक जवाफ दिएका छन् । युएईले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै मंसिरको पहिलो सातादेखि नेपालीका लागि चारित्रिक प्रमाणपत्र प्रमाणित गराउने नयाँ व्यवस्था लागू गरेको हो । तर यसको औपचारिक जानकारी भने युएईले नेपाललाई दिएको छैन ।बुधबारको छलफलमा नेपाल र युएईबीच भएको श्रम सम्झौताका प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ ।

त्यस अवसरमा राजदूत सामसीले युएईका विभिन्न जेलमा रहेका १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिइएको जानकारी दिएका थिए ।  मन्त्री यादवले वैदेशिक रोजगारीको लागत न्यूनीकरण, नेपालबाट जाने कामदारको सीप र दक्षता बढाउने विषयमा साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्थामा समेत ध्यान दिन आग्रह गरेका छन् ।