• अभिषेक खतिवडा 

हल्दीबारी । 

वर्षायामसँगै डेङ्गु, जापानी इन्सेफ्लाइटिस ९जेई० तथा सर्पदंशका घटनाहरू बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै हल्दीबारी गाउँपालिकाले समुदायस्तरमा व्यापक स्वास्थ्य सचेतना तथा अनुगमन अभियान सञ्चालन गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा सम्बन्धित वडाहरूको आयोजनामा वडा नम्बर ३ को ढडुवा बजार र वडा नम्बर ४ को वडाबारी बजारमा डेङ्गु नियन्त्रण, जेई रोकथाम तथा सर्पदंश न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

अभियान अन्तर्गत बजार क्षेत्रका होटल, विद्यालय, ग्यारेज, किराना पसल, कबाडी सामग्री संकलन स्थल लगायत जोखिमयुक्त स्थानहरूको अनुगमन गरी लामखुट्टेको प्रजननस्थल बन्न सक्ने पानी जमेका ड्रम, ट्यांकी, पुराना टायर, गमला तथा अन्य भाँडाकुँडाहरूको पहिचान गरी लार्भा नष्ट गर्ने तथा सरसफाइ गर्ने कार्य गरिएको थियो। साथै व्यवसायी तथा स्थानीय बासिन्दालाई वातावरण सफा राख्न र पानी जम्न नदिन आग्रह गरिएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताए। त्यसैगरी जापानी इन्सेफ्लाइटिसबाट बच्न नियमित खोप, झुलको प्रयोग तथा व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र वर्षायाममा सर्पदंशको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको थियो।

ढडुवा बजारमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, वडा सदस्य कर्ण भण्डारी, स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, जलथल स्वास्थ्य चौकी प्रमुख माधवप्रसाद यादव, जलथल प्रहरी चौकी प्रमुख छविहाङ शेर्मा, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा देवी आचार्य, आधारभूत स्वास्थ्य चौकी हल्दीबारी–३ का प्रमुख मिलन उप्रेती, स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

त्यसैगरी वडाबारी बजारमा सम्पन्न कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर, वडा सदस्य सुनिल बाराकोटी, स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, जलथल स्वास्थ्य चौकी प्रमुख माधवप्रसाद यादव, आधारभूत स्वास्थ्य चौकी हल्दीबारी–३ का प्रमुख मिलन उप्रेती, जलथल प्रहरी चौकी प्रमुख छविहाङ शेर्मा, वडाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम कोइराला, सचिव योगेश कार्की, शिक्षिका तुलसा सुवेदी भण्डारी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार यस अभियानअन्तर्गत हिजो वडा नं। २ स्थित हल्दीबारी स्कुलचोक क्षेत्रमा कार्यक्रम सम्पन्न गरिएको थियो भने आज वडा नं. ३ को ढडुवा बजार र वडा नं। ४ को वडाबारी बजारमा कार्यक्रम सञ्चालन गरी अभियान सम्पन्न गरिएको हो।

स्थानीय तह, स्वास्थ्य संस्था, सुरक्षानिकाय र समुदायको संयुक्त प्रयासमा सञ्चालन गरिएको यस अभियानले डेङ्गु, जेई तथा सर्पदंशबाट हुन सक्ने जोखिम न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य प्रवर्द्धन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।