मेचीनगर । 

झापाको मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ र उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेडको संयुक्त लगानीमा विपन्न वर्गका ७० जना उपभोक्तालाई झुल वितरण गरिएको छ ।

वन समूहको सभाहलमा आयोजित कार्यक्रममा ४५ वटा झुल वन समूहले तथा २५ वटा झुल उपभोक्ता महिला कृषि सहकारी संस्थाले खरिद गरी वितरण गरेका हुन् ।

वन समूहका अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं। ९ का वडाध्यक्ष कञ्चन तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष संगीता थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने वन समूहकी सचिव देविका खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कञ्चन तामाङ, सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्ष जानुका ओलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्य धनकुमार श्रेष्ठ र नगर महासंघका कोषाध्यक्ष निशा भण्डारीको समेत आतिथ्यता रहेको थियो ।

यसैबीच, मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ ले भोलि ९शनिबार० उपभोक्तालाई लक्षित गरी निःशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ । वन समूहको कार्यालयमा बिहान १० बजेदेखि सञ्चालन हुने शिविरमा मेची एड्भान्सले प्राविधिक सहयोग गर्नेछ । वन समूहका अध्यक्ष युवराज रेग्मीले सबै उपभोक्तालाई आँखा परीक्षण तथा आवश्यक सेवा लिनका लागि शिविरमा उपस्थित हुन आग्रह गरेका छन् ।