झापा ।
गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा नाकाको निरीक्षण गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपी सहितका सुरक्षाकर्मीहरुको मोबाईल नियन्त्रणमा लिएको तथा प्रहरीहरुको तस्करीमा संलग्नताको सम्बन्धमा प्रहरीहरुलाई निगरानिमा राखिएको भन्ने विषयमा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित÷प्रसारित समाचारप्रति जिल्ला प्रहरी कार्यालय झापाको गम्भीर ध्यानाकर्षण भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले आज (बुधवार) एक सूचना जारी गर्दै भ्रामक सूचना प्रकाशन सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त समाचार पूर्णतया भ्रामक र निराधार भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले त्यस्ता भ्रामक साथै अपुष्ट समाचार तथा सूचना सम्प्रेशण नगर्न आग्रह गरेको छ । । साथै पुष्टि नभएका तथा आधारहीन सूचना प्रकाशन, प्रसारण वा सामाजिक सञ्जाल मार्फत सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तामासमेत जिल्ला प्रहरी कार्यालय झापा हार्दिक अपिल गरेको छ । झापा आएका गृहमन्त्री गुरुङ गत असार २१ गते पूर्वी नाका काँकरभिट्टालगायतका स्थानको अवलोकन गरेका थिए ।
सोही समयमा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपी सहितका सुरक्षाकर्मीहरुको मोबाईल नियन्त्रणमा लिएको तथा प्रहरीहरुको तस्करीमा संलग्नताको सम्बन्धमा प्रहरीहरुलाई निगरानिमा राखिएको भन्ने विषयमा समाचार प्रकाशन भएका थिए ।



















