शनिश्चरे ।
भारती बन्धु एकता समाज केन्द्रिय समितिको अगुवाईमा संकलित रकम आर्थिक अवस्था नाजुक रहेको भारती परिवारलाई हस्तान्तरण गरिएको छ । पाँचथरको साविक नागी–४ मुकुलुङमा जन्मीएका स्वर्गीय टेकबहादुर भारतीको दुःखमा रहेको परिवारलाई आज (शनिवार) अर्जुनधारा–८ स्थित हात्तीकिल्लामै पुगेर बन्धुहरुबाट संकलित रकम प्रदान गरिएको हो ।
विदेशमा रहेर पनि आफ्नो बन्धुहरुको दुःख सुखमा साथ र सहयोग भावना जागृत गरेर आफ्ना बन्धुहरुलाई सहयोग अपिल गर्ने भारती बन्धु एकता समाज केन्द्रिय समितिका महासचिव विमल भारतीको सक्रियतामा संकलित २३ हजार २०० रुपैयाँ अध्यक्ष उमेश भारतीको नेतृत्वमा गएको भारती बन्धुहरुको टोलीले स्व. भारतीकी श्रीमती भीममाया भारती र छोरी भावनालाई हस्तान्तरण गरेको छ ।
टेकबहादुर बाल्यकालमै सपरिवार भारतको मणिपुर पुगेको र आसामको डिपु धनश्रीलाई आफ्नो कर्मथलो बनाई कृषि कर्मलाई नै जीवनको आधार मानेर अथक परिश्रमका साथ आफ्नो जीवनका उर्जाशील वर्षहरू बिताउँदै आएका थिए ।
भिम माया रेग्मीसँग वैवाहिक सम्बन्धमा बाँधिएर एक सुखी र सभ्य परिवार निर्माण गर्दै आएका उनी आफ्ना पुर्खाको माटोप्रतिको गहिरो माया र लगावका कारण गत २०८१ वैशाख महिनामा पुनः मातृभूमि फकिएका थिए । उनको परिवार हाल अर्जुनधारा नगरपालिका–८, हात्ती किल्लामा स्थायी रूपमा बसोबास गर्दै आएको छ ।
टेकबहादुरको २०८३ वैशाख ८ गते असामयिक निधन भएको र हाल परिवारहरु सामान्य जीवन यापन गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ । स्व. टेकबहादुरका एक छोरा कमल, श्रीमती भीममाया र छोरी भावना रहेका छन् ।
टेकबहादुरको मृत्युँगै हाल परिवार अत्यन्तै कमजोर आर्थिक अवस्थामा रहेको भन्दै समाजले आफ्ना बन्धुहरुसँग सकेको आर्थिक सहयोग गर्न अपिल गरेको थियो । सोही रकम आज भारतीको निवासमै पुगेर अध्यक्ष उमेश भारती, झापा जिल्ला उपाध्यक्ष सिता भारती, जिल्ला सल्लाहकार सदस्य अमृत भारती, रामप्रसाद भारतीसहितको टोली हस्तान्तरण गरेको हो ।
टेकबहादुरको नागरिकता भएपनि श्रीमती र छोराछोरीको नागरिकता बनाउन समस्या भएको भन्दै परिवारले त्यसका लागि वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुमा अपिलसमेत गरेको छ ।


















