झापा ।

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भारतीय विमानस्थलबाट कामदार उडाएको र विवरण नबुझाएको भन्दै झन्डै ६ सय म्यानपावर कम्पनीमाथि गरिएको कारबाहीको विषयमा वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यलाई ज्ञापनपत्र बुझाउने भएको छ । त्यसका लागि आज (सोमबार) को समय लिइएको छ ।

विभागले असार २६ गतेको निर्णयअनुसार ५ सय ९८ म्यानपावर कम्पनीलाई सचेत गराएको र त्यसमध्ये ८ वटा कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको थियो । आइतबार संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त विषयमा समीक्षा गर्दै सोमबार महानिर्देशक आचार्यलाई भेटेर निर्णय प्रक्रियामा भएका त्रुटि र त्यसले दीर्घकालीन रूपमा व्यवसायीलाई पार्ने असरबारे छलफल गर्ने निर्णय गरेको हो ।

विभागले म्यानपावर कम्पनीहरूलाई गत चैत १ गतेदेखि जेठ ३१ गतेसम्मको अवधिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पठाएका कामदारको उडान विवरण माग गर्दा अनलाइनमार्फत पनि विवरण पठाउन सकिने जनाएको थियो । तर शुक्रबारको विभागीय निर्णयमा अनलाइनमार्फत विवरण बुझाएका कम्पनीहरूलाई समेत कारबाही स्वरूप सचेत गराइएको छ ।

अध्यक्ष खत्रीले विगतमा विमानस्थलमा मर्मत कार्य हुँदा अन्तर्राष्ट्रिय उडान कटौती भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आई रेमिट्यान्स आप्रवाहको लय नबिग्रियोस् भनेर नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहमतिमै भारतीय विमानस्थलबाट नेपाली कामदार उडाइएको यथार्थलाई विभागले अन्यथा व्याख्या गर्न नहुनेमा संघको जोड रहेको पनि बताए ।

व्यवसायीहरूले विशेषगरी गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा धावनमार्ग मर्मतका क्रममा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भई उडान संख्या सीमित भएको, हवाई टिकटको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको र कुनैपनि कामदारले दुःख नपाएको अवस्थामा भएको उडानलाई कारबाहीको अस्त्र बनाउनु आपत्तिजनक भएको बताएका छन् ।

उनीहरूले कतिपय गन्तव्यमा नेपालबाट प्रस्थान गर्ने टिकट सोही गन्तव्यबाट नेपाल फर्किने टिकटभन्दा करिब तीन गुणासम्म महँगो भएको अवस्थामा असाधारण परिस्थितिलाई मध्यनजर गर्दै नेपाली श्रमिकहरूको हित संरक्षण तथा वैदेशिक रोजगारीलाई निरन्तरता दिन नेपाल सरकारका तत्कालीन परराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयको समन्वयमा श्रम स्वीकृति प्राप्त नेपाली श्रमिकहरूले अतिरिक्त ‘नो अब्जेक्सन लेटर’ बिना नै भारतका अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक जान सक्ने व्यवस्था गरिएको विषयलाई विभागले कारबाहीको हतियार बनाउनु अस्वाभाविक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष खत्रीले भारतस्थित नेपाली दूतावासले समेत सार्वजनिक सूचना जारी गरी नेपालबाट श्रम स्वीकृति प्राप्त नेपाली नागरिकलाई भारतबाट प्रस्थान गर्न थप कागजात आवश्यक नपर्ने स्पष्ट गरेको विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई पनि टेलिफोनमार्फत आइतबार जानकारी गराइएको बताए । त्यसैगरी संघले साउदी स्किल भेरिफिकेसनको विरोधमा कार्यक्रम गर्ने तथा कार्यसमिति सदस्य रमा खड्कालाई वैदेशिक रोजगार बोर्डको सदस्य मनोनयनका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।