लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिकाको विरिङ खोलामा वाढीको जोखिम बढेसँगै नगरपालिकाको अगुवाईमा जोेखिम ब्यवस्थापन कार्य अघि वढाइएको छ । अर्जुनधारा नगरपालिका–४ रातेखाल र अर्जुनधारा–५ पानीकल जोड्ने कज्वे बाढीले भत्काएर बिरिङ खोलाले  कटान शुरु गरेपछि नगरपालिकाको अगुवाई तथा सरोकारवालाहरुको श्रमदानमा आज (बुधवार) जोखिम व्यवस्थापन कार्यलाई अघि वढाइएको हो । 

श्रमदानमा अरिदमन गण चारआलीका सेनानी इरज खड्काको नेतृत्वमा ३५ जना सेना, भीष्म सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरी बल बेश क्याम शनिश्चरे र खुदुनाबारीबाट २१ जनाको टोली, नगर प्रहरी, स्थानीय र आरआइटी समुहको सहभागीता रहेकोे थियो । 

उक्त स्थानमा बिरिङ खोलाले कटान शुरु गरेसँगै स्थानीय त्रसित भएका थिए । सो क्षेत्रमा कटान भए करिव ५ सय घरपरिवार साथै ५ सय वढी बिगाहा जग्गा जोखिममा पर्ने अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए ।

 सो स्थानमा बिरिङ खोलाको बाढीले बहाव परिवर्तन गरेर कटान शुरु गरेको थियो । नगरपालिकाको अगुवाईमा स्काभेटरको सहायताले खोलालाई बिच भागमा फर्काएर तटबन्धन गरिने नगर प्रमुख गोम्देनले जानकारी दिए । नगर प्रमुख गोम्देनका अनुसार नगरपालिकाले ५० वटा र जनताको तडबन्धनबाट ५० वटा तारजाली गरेर एक सय तारजालीले तटबन्धन गरिने अभियान दुई दिन अर्थात आज र भोलि सरोकारवालाहरुको श्रमदानबाट गरिने नगर प्रमुख गोम्देनले जानकारी दिए । 

श्रमदानमा नगर प्रमुख गोम्देन, नगर उप–प्रमुख खड्गमाया पराजुली, आरआइटी टिम, सुरक्षाकर्मीहरू र स्थानीयहरुको सहभागीता रहेको टेकनाथ अधिकारी (महेन्द्र) ले जानकारी दिए ।