बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको छ । शैक्षिक परामर्श, भाषा शिक्षण र तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ विरुद्ध इक्यानले आज (आइतवार) शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गरेको हो ।
शैक्षिक परामर्श क्षेत्रको अस्तित्व, गुणस्तर, पारदर्शिता तथा विद्यार्थीहितको संरक्षण गर्दै सरोकारवालाहरूको साझा चासो, सुझाव र मागहरू सम्बन्धित निकायसमक्ष जिम्मेवारीपूर्वक पुर्याउने उद्देश्यले प्ले कार्डसहित विरोध प्रर्दशनमा उत्रिन बाध्य भएको इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकटेलले बताए । उनले ब्यवसायीहरुले सरकारले ल्याएको शैक्षिक नियमावलीका धेरै प्रावधानहरु सकारात्मक भएपनि केही बुँदामा आफुहरुको गम्भीर असहमति रहेको बताएका छन् ।
शैक्षिक नियमावलीमा परामर्श ब्यवसायीहरुले २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने ब्यवस्थाप्रति गम्भीर असहमति रहनुका साथै विश्वविद्यालयबाट कुनै रकम वा उपहार लिन नपाउने ब्यवस्था गर्नु भनेको ब्यवसाय बन्द गर्ने सरकारको उद्धेश्य रहेको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले आरोप लगाएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका सल्लाहकार चिरन न्यौपानेको संयोजकत्वमा बिर्तामोडमा गरिएको प्रर्दशनमा जिल्लाभरका शैक्षिक परामर्श ब्यवसायीहरुको सहभागिता रहेको थियो । आन्दोलनका संयोजक समेत रहेका न्यौपानेले राज्यले शैक्षिक परामर्श ब्यवसायीका मागहरुलाई तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
विद्यार्थी तथा अभिभावकबाट बिदेशका कलेजमा लाग्ने शुल्क आफुहरुले लिदै नलिने, सो रकम सोझै अभिभावकको खाताबाट कलेजमा जाने भएकाले त्यसको जिम्मेवारी परामर्श ब्यवसायीहरुलाई जबर्जस्ती लादिनु न्याय संगत नभएको शैक्षिक परामर्श ब्यवसायीहरुको भनाई छ । इक्यान झापाको कार्यालयबाट शुरु भएको विरोध प्रर्दशनले बिर्तामोडस्थित मुक्तिचोकमा पुगेर सरकार विरुद्ध प्ले कार्ड प्रर्दशन गर्दै सञ्चारकर्मीहरुसँ संक्षिप्त प्रश्नोत्तर गरेको थियो ।


















