झापा ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले साउदी अरेबिया जाने कामदारको सीप प्रमाणीकरण (स्किल सर्टिफिकेसन) गर्ने धापासीस्थित साउदी स्किल भेरिफिकेसन प्रोग्राम कार्यालय सिलबन्दी गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा यसअघि घेराउ भइसकेको उक्त कार्यालयमा विपन्न अवस्थाका कामदारको आर्थिक शोषण भएको उजुरी परेपछि मन्त्रालयले उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा बुधबार अनुगमन टोली पठाएको थियो । अनुगमनपछि मन्त्रालयले कार्यालय सिलबन्दी गरेको हो ।
केन्द्रले कानुनले तोकेको व्यवस्था पालना नगरी सीप परीक्षण गरेको देखिएको र सिलबन्दी गरिएको उपसचिव पौडेलले बताए । उनले प्राप्त भएका कागजातका आधारमा गहिरिएर अनुसन्धान गर्नुपर्ने र गर्ने बताएका छन् ।
यसअघि आक्रोशित व्यवसायीहरूले उक्त एकेडेमी वैदेशिक रोजगार व्यवसायी टेकबहादुर पौडेलको भएको दाबी गरेका थिए । तर व्यवसायी पौडेलले आफ्नो वा आफ्नो कम्पनीको उक्त संस्थासँग कुनै कानुनी सम्बन्ध नरहेको बताएका थिए । मन्त्रालयले कागजातहरू कब्जामा लिएकाले अनुसन्धानपछि सत्यतथ्य खुल्ने बताइएको छ ।


















