बिर्तामोड । 

लायन्स क्लब अफ विर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारा नगरपालिका–५ स्थित डाँडागाउँको फाल्गुनन्द छात्रावास जनजाती कल्याण आश्रममा आश्रितलाई शैक्षिक सामाग्रीसहित आवश्यक सामाग्री सहयोग गरेको छ । 

लायन्स क्लब अफ विर्तामोड स्मार्ट लेडीकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षता तथा गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्रमुख तथा प्राचार्य साथै फाल्गुनन्द छात्रावास जनजाती कल्याण आश्रमका अध्यक्ष डा. रुपकप्रसाद खनालको प्रमुख आतिथ्यतामा गत शनिवार सो सामाग्री हस्तान्तरण गरिएको हो । 

फोटेक्स डिष्ट्रिव्युटरका सि.ओ. सुबास निरौला र चन्दा कट्टेलको जन्मदिनको अवसरमा सामाजिक भावना राखेर उपलब्ध गराइएको सो सामाग्री आश्रममा रहेका २० जना लोपउन्मुख चेपाङ छात्रहरुलाई प्रदान गरिएको अध्यक्ष सरु भुर्तेल खनालले जानकारी दिइन् । 

शैक्षिक सामाग्री अन्तरगत कापी, पेन्सिलसेट, डटपेन, स्केल प्रदान गरिएको थियो भने दुई थान सिलिङ्ग फेन र मिठाई वितरण गरिएको थियो । शैक्षिक सामाग्री सुवास निरौलाले र पंखा चन्दा कट्टेलले उपलब्ध गराएका थिए । 

उक्त छात्रवासको सम्पूर्ण जिम्मेवारी २०७३ मंसिरदेखि अध्यक्ष डा. रुपकप्रसाद खनालको काँधमा रहेको कार्यक्रममा धन्यवाद दिदै छात्रावासका ब्यवस्थापक मानबहादुर राईले जानकारी दिए । छात्रावासका विशाल चेपाङलाई सन् २०२५ मास्मार्ट लेडीले अभिभावकत्व ग्रहण गरेकोे र उनलाई कक्षा–१२ सम्म सम्पूर्ण खर्च गरेर अध्यापन गराइने बताइएको छ ।   


सोही कार्यक्रमका बिच सम्बोधन गर्दै छात्रावासका अध्यक्षसमेत रहेको डा. खनालले अहिलेसम्म छात्रावासको सम्पूर्ण खर्च आफुले ब्यहोरी रहेको बताए । उनले आकलझुकल कहिलेकाँही दाताहरुले सहयोग गर्ने गरेकोे बताउँदै तत्काल छात्रावासमा कम्पाउण्ड गर्न र इन्टरनेटको आवश्यक रहेको बताए । त्यसका लागि नगरपालिकामासमेत जानकारी गराएपनि कुनै सहयोग नभएकोप्रति उनले गुनासो गरेका छन् । 

कार्यक्रममा संस्थापक अध्यक्ष लीला मैनाली, डिष्ट्रिक चिफ एओजी लायन सत्यनारायण शर्मा, रिजनचियर पर्सन लायन शर्मिला जोशी, जोन चियर पर्सन लायन यशोदा उप्रेती, प्रथम उपाध्यक्ष लायन गोमा मैनाली, फोटेक्स डिष्ट्रिव्युटरका सञ्चालक सुवास निरौला, रुसा खनाल, समाजसेवी राधादेवी मैनाली, ब्याङ्य पत्रकार तथा समाजसेवी ज्ञानमणि भुर्तेललगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन क्लवकी एडमिनेष्टर लायन शीला भट्टराईले गरेकी थिइन् ।