बुट्टाबारी ।
भारतीय सेनाका पूर्व हवल्दार तथा सामाजिक व्यक्तित्व स्वर्गीय तेजबहादुर ओनेमको वार्षिकीको अवसरमा जुनकीरी सार्वजनिक आधारभूत विद्यालय, झापा अर्जुनधारा–११ तथा स्थानीय बालगृहमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको छ।
स्वर्गीय ओनेमको स्मृतिमा आयोजित उक्त कार्यक्रममा उनकी श्रीमती गंगा लिम्बू, छोरा मङ्गल ओनेम तथा दिदी दिलमाया लिम्बूको विशेष उपस्थिति रहेको थियो। परिवारका तर्फबाट विद्यालय र बालगृहलाई चामल, दाल, तेल लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर मगरले सहयोगी परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै स्वर्गीय ओनेमको समाजसेवा र मानवीय योगदान सधैं प्रेरणाको स्रोत रहने बताए।
कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए । उनले स्वर्गीय ओनेमप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता मानवीय सहयोगले समाजमा सहयोग, सद्भाव र सेवाको संस्कारलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमको अन्त्यमा स्वर्गीय तेजबहादुर ओनेमप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।


















