भद्रपुर ।
जापानिज इन्सेफ्लाइटिस (जेई) बाट झापामा थप एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै जिल्लामा जेईबाट मृत्यु हुनेहरूको सङ्ख्या ६ र सङ्क्रमितहरूको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेहरूमा चार महिला र दुई पुरुष छन् । हालसम्म मेचीनगरमा दुई तथा हल्दीबारी, बाह्रदशी, बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
मेचीनगरका ५, हल्दिबारीका १, बाह्रदशीका १, कचनकवलका १, बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखा परेको हो ।
त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको, दुई जना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको बताइएको छ । सङ्क्रमितहरु अधिकांश ५० वर्ष माथिका रहेको जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमा एक जना बालक ७ महिनाका र एक जना ४० वर्ष उमेरको रहेका छन् ।


















