कन्याम, इलाम ।
झापाको अर्जुनधारा नगरपालिकाले चार बर्षको अवधिमा नगरमा भएका विकास उपलब्धीहरुका बिषयमा जानकारी दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि २०८२/०८३ सम्म सञ्चालन गरिएका विकास निर्माणसहित नगरमा सञ्चालित कार्यक्रमहरुका बिषयमा जानकारी दिएको हो ।
नगरले इलामको कन्याममा पत्रकार शुक्रवार सम्मेलनको आयोजना गर्दै नगरका कार्यक्रमहरू तथा ४ बर्षको अवधिमा भएका उपलब्धीहरुका बारेमा जानकारी दिएको हो ।
अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले चुनावताका गरिएका प्रतिवद्धता अधिकांश पूरा हुँदै गरेको बताएका छन् । नगर प्रमुख गोम्देनका अनुसार ४ बर्षको अवधिमा नगरमा संघ, प्रदेश र नगरले करिव ४५ किलो मिटर बाटो सम्पन्न भएको छ ।
नगर प्रमुख गोम्देनले ४ बर्षको अवधिका नगरपालिकाका बिभिन्न शाखाहरुले गरेको कार्य उपलब्धीको तथ्याङ्कसमेत उपलब्ध गराएका थिए । उनले नगर अन्तरगतको योजना शाखा, कृषि विकास शाखा, स्वास्थ्य शाखा, वन, वातावरण तथा विपद् व्यवस्थापन, न्यायिक समिति, आयुर्वेद शाखा, नगर खेलकूद विकास समिति, शिक्षा, शुद्ध खानेपानी, बिजुली विस्तारलगायतको नगरमा भए गरेका सम्पूर्ण उपलब्धीहरुका बारेमा जानकारीसहित तथ्याङ्क सार्वजनिक गरेका छन् ।
देशमै पहिलो आमा सुरक्षा कार्यक्रम सञ्चालनसहितको गुणस्तरीय नगर अस्पताल र झापामै पहिलो पशु अस्पताल भएको नगर अर्जुनधारा नगर भएको नगर प्रमुख गोम्देनले जानकारी दिए ।
यसैगरी शुद्ध खानेपानी, बिजुली विस्तार, धनिपूर्जा वितरण, जनता आवास कार्यक्रम, आयुरर्वेद अस्पताल, खेलकूदको विकास, बिपद् व्यवस्थापन, कृषिलगायतका क्षेत्रमा भएका उपलब्धीहरुका बारेमा जानकारी दिइएको छ ।


















