झापा ।
विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र गीत–संगीतसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएका छन्, मेचीनगरका विकास तिवारी । जो सामाजिक सञ्जालमा ‘मिस्टर तिवारी ४११’ नामले परिचित छन् । गीत–संगीतसँगै अभिनय, निर्देशन, सिरियल निर्माण र सामाजिक गतिविधिमा समेत सक्रिय तिवारीले दुबईलाई कर्मथलो बनाएर आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
मेचीनगर नगरपालिका–९ धुलाबारीमा जन्मिएका तिवारी सन् २०२१ देखि संयुक्त अरब इमिरेट्स ९दुबई० मा बस्दै आएका छन् । दुबईस्थित श्रीराम ग्रुप अफ कम्पनीमा आबद्ध रहेर भिसा तथा टिकटिङसम्बन्धी काम गर्दै आएका उनी आइएनइएस युएईका केन्द्रीय सदस्यका रूपमा समेत सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय छन् ।
दुबईमा रहेर नेपाली चलचित्र प्रदर्शन, फिल्म प्रमोसन तथा विभिन्न सामाजिक–सांस्कृतिक कार्यक्रमसँग जोडिँदै आएका तिवारीको कलायात्रा भने गीत–संगीत र अभिनयसम्म पुगेको छ ।
उनले ‘फर्सी कुहिए झैँ’ गीतमा निर्देशन तथा अभिनय गरेका छन् । दुबईमै छायांकन गरिएको उक्त गीत ओएसआर मुभीको युट्युव च्यानलमार्फत बजारमा आएको छ । विदेशको व्यस्त जीवनकाबीच नेपाली गीतको निर्माण र त्यसमा अभिनय गर्नु उनका लागि नेपाली कला क्षेत्रमा जोडिने महत्वपूर्ण अवसर बनेको छ ।
त्यस्तै, तिवारी ‘सर्वनास’ नेपाली सिरियल निर्माणमा समेत संलग्न छन् । उक्त सिरियल युट्युवमार्फत दर्शकमाझ उपलब्ध छ । सामाजिक विषयवस्तु र मनोरञ्जनलाई जोडेर नेपाली सामग्री निर्माण गर्ने उनको प्रयासलाई यसले थप फराकिलो बनाएको छ ।
सन् २०२१ देखि टिकटकमार्फत नेपाली गीत–संगीतलाई माया गरौँ भन्ने सन्देश दिँदै आएका तिवारीले ढाका टोपीलाई आफ्नो पहिचान बनाएका छन् । दुबईमा नेपाली गीतमा नाच्दा होस् वा विभिन्न कार्यक्रममा सहभागी हुँदा, उनी प्रायः ढाका टोपी लगाएर प्रस्तुत हुन्छन् ।
उनका लागि ढाका टोपी केवल पहिरन नभई विदेशमा पनि नेपाली पहिचान प्रस्तुत गर्ने माध्यम हो । सामाजिक सञ्जालमा उनलाई धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीले ‘मिस्टर तिवारी’ भनेर चिन्न थालेका छन् ।
दुबईमा रहेर तिवारीले प्रवासी नेपालीलाई सुरक्षित रोजगारीका विषयमा समेत सचेत गराउँदै आएका छन् । विदेश आउनुअघि कम्पनी, काम, भिसा, सम्झौता, तलब तथा सुविधाबारे राम्रोसँग बुझेर मात्रै निर्णय गर्नुपर्ने उनको सुझाव छ ।
‘नेपाली गीत–संगीतलाई माया गरौँ, आफ्नो पहिचानलाई जोगाऔँ र विदेशमा आउँदा सही जानकारी लिएर सुरक्षित रूपमा अघि बढौँ,’ तिवारीको सन्देश छ । उनले विदेश आउँदा सबै कुरा बुझेर आउन सुझाव दिएका छन् ।
प्रतिक्रिया 0