बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–५, जात्रुबारीका पाँच वर्षीय उज्वल ठाकुरको उपचारमा आर्थिक समस्या भएको छ। बोनम्यारो ट्रान्सप्लान्ट सफल भएपछि घर फर्किएका उज्वलमा पुनः स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उपचारमा थप खर्च आवश्यक परेपछि परिवारले सहयोगका लागि अपिल गरेको छ।
उज्वलको भारतमा सात महिनासम्म उपचार गरिएको थियो। विभिन्न दाता र परिवारले जुटाएको करिब ५० लाख रुपैयाँ खर्च गरेर उनको बोनम्यारो ट्रान्सप्लान्ट गरिएको थियो। ट्रान्सप्लान्ट सफल भएपछि केही दिनअघि मात्रै उनी घर फर्किएका थिए। तर, अचानक दिसापिसाब नियन्त्रण गर्न नसक्नेलगायतका समस्या देखिएपछि उनलाई बिर्तामोडस्थित बीएनसी अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ।
उज्वलका बुबा मुकेश ठाकुरले बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको दक्षिणपट्टि सैलुन सञ्चालन गरेर परिवारको गुजारा चलाउँदै आएका छन्। आर्थिक अवस्था कमजोर रहेको र सम्पत्तिका नाममा केही नभएको परिवारलाई छोराको थप उपचार खर्च जुटाउन कठिन भएको छ।
छोराको उपचारका लागि अहिलेसम्म ठूलो रकम खर्च भइसकेको र थप उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै मुकेशले सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था, समाजसेवी तथा सहयोगी मनहरूलाई सक्दो सहयोग गरिदिन आग्रह गरेका छन्।
उज्वलको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिहरूले तल राखिएको क्यूआर कोडमार्फत पनि आर्थिक सहयोग गर्न सक्नेछन्। सानो सहयोगले पनि पाँच वर्षीय उज्वलको उपचारमा ठूलो राहत पुग्ने विश्वास परिवारले लिएको छ।
प्रतिक्रिया 0