• शेखर सेढाई

विदेशिनु रहर मात्र होइन, धेरै नेपालीका लागि बाध्यता, सपना र भविष्य निर्माणको यात्रा पनि हो। रोजगारी, अध्ययन, व्यवसाय वा अन्य अवसरको खोजीमा हजारौँ नेपाली जापान आएका छन्। यहाँ आएपछि हामीले आफ्नो जीवन र भविष्य निर्माण गर्नु त छँदै छ, साथै आफू नेपाली भएको पहिचान र प्रतिष्ठाको रक्षा गर्नु पनि उत्तिकै आवश्यक छ। त्यसैले प्रश्न उठ्छ—हामी नेपालीले विदेशमा आएपछि कसरी बस्ने ?

जापानमा रहने नेपालीहरुले यी कुराहरुमा ध्यान दिऔं 
पहिलो सवालः जुन देशमा बस्छौँ, त्यहाँको कानुन, नियम र प्रणालीको सम्मान गरौँ।
दोस्रो सवालः नेपाली–नेपालीबीच सहकार्य, सद्भाव र सहयोगको भावना विकास गरौँ।
तेस्रो सवालः सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ।
चौथो सवालः पुराना र नयाँ नेपालीबीच सम्मान, अनुभव र सिकाइको सम्बन्ध स्थापित गरौँ।
पाँचौँ सवालः जहाँ रहे पनि आफ्नो देश, माटो, भाषा र पहिचानप्रति समर्पित बनौँ।

पहिलो सवालः जुन देशमा बस्छौँ, त्यहाँको कानुन, नियम र प्रणालीको सम्मान गरौँ।

जापान आफ्नो अनुशासन, समयको पालना, कार्यसंस्कृति र कानुनी व्यवस्थाका लागि परिचित छ। यहाँ बस्ने विदेशीका रूपमा हामीले पनि यहाँको कानुन, सामाजिक नियम र स्थापित प्रणालीको पालना गर्नुपर्छ। अरूले के गरे भन्नेभन्दा पनि आफूले के गर्नुपर्छ भन्ने कुरामा सचेत हुन आवश्यक छ। कानुन पालना गर्नु बाध्यता मात्र होइन, जिम्मेवार नागरिक र असल समाजको सदस्य हुनुको प्रमाण पनि हो। हाम्रो सानो लापरबाहीले व्यक्तिगत जीवनमा मात्र होइन, समग्र नेपाली समुदायको छविमा समेत असर पार्न सक्छ।

दोस्रो सवालः नेपाली–नेपालीबीच सहकार्य, सद्भाव र सहयोगको भावना विकास गरौँ।

विदेशको जीवन सहज हुँदैन। भाषा, संस्कृति, कामको दबाब र पारिवारिक जिम्मेवारीबीच नयाँ जीवन सुरु गर्नु धेरैका लागि चुनौतीपूर्ण हुन्छ। यस्तो अवस्थामा नेपालीले नेपालीलाई साथ दिन सक्नुपर्छ। समस्या पर्दा सहयोग गर्ने, नयाँ आउनेलाई सही जानकारी दिने, रोजगारी तथा अध्ययनसम्बन्धी अनुभव बाँड्ने र आवश्यक पर्दा उचित मार्गदर्शन गर्ने संस्कार विकास गरौँ।

हामीबीच विचार, क्षेत्र, संस्था, पेसा वा राजनीतिक आस्थाका आधारमा फरक मत हुन सक्छन्। तर ती भिन्नता आपसी दूरी, ईर्ष्या र द्वन्द्वको कारण बन्नु हुँदैन। हामी एकअर्काको प्रतिस्पर्धी मात्र होइनौँ, आवश्यक पर्दा सहयात्री पनि हौँ। कसैको प्रगतिमा खुसी हुन सक्नु र अर्को नेपालीलाई अगाडि बढ्न सहयोग गर्नु नै बलियो समुदायको आधार हो।

तेस्रो सवालः सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ।

आज सामाजिक सञ्जाल सूचना र विचार आदानप्रदानको प्रभावकारी माध्यम बनेको छ। तर अपुष्ट समाचार, अतिरञ्जित घटना, व्यक्तिगत आरोप, अनावश्यक विवाद र समुदायलाई बदनाम गर्ने सामग्रीले समाजमा भ्रम र अविश्वास फैलाउन सक्छ। कुनै घटना देख्नेबित्तिकै सत्यतथ्य नबुझी सार्वजनिक गर्नु जिम्मेवार व्यवहार होइन।

हामीले के लेख्छौँ, के साझा गर्छौँ र कस्तो सन्देश फैलाउँछौँ भन्ने कुराले हाम्रो व्यक्तिगत सोच मात्र होइन, नेपाली समुदायप्रतिको धारणालाई समेत प्रभावित गर्छ। त्यसैले सामाजिक सञ्जाललाई आरोप–प्रत्यारोपको माध्यम होइन, ज्ञान, सूचना, सकारात्मक सोच र आपसी सहयोगको माध्यम बनाऔँ। सूचना फैलाउनुभन्दा पहिले सत्यता जाँचौँ, प्रतिक्रिया दिनुभन्दा पहिले जिम्मेवारी सम्झौँ।

चौथो सवालः पुराना र नयाँ नेपालीबीच सम्मान, अनुभव र सिकाइको सम्बन्ध स्थापित गरौँ।

जापानमा लामो समयदेखि बस्दै आएका नेपालीसँग अनुभव छ भने नयाँ आएका नेपालीसँग नयाँ ऊर्जा, सोच र सम्भावना छन्। यी दुवै पक्ष एकअर्काका पूरक हुन्। पुराना नेपालीले आफूले भोगेका कठिनाइ र सिकेका कुरा नयाँ पुस्तासँग बाँड्नुपर्छ। नयाँ आउनेलाई कमजोर ठान्ने, हेप्ने, अनावश्यक दबाब दिने वा अनुभवको नाममा आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति त्याग्नुपर्छ।

त्यसैगरी, नयाँ आउनेले पनि यहाँको समाज, नियम र अनुभवबाट सिक्ने विनम्रता राख्नुपर्छ। सम्मान एकतर्फी माग होइन, दुवै पक्षबाट व्यवहारमा देखिनुपर्ने गुण हो। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सहकार्य हुन सके नेपाली समुदाय अझ सक्षम, सभ्य र उदाहरणीय बन्न सक्छ।

पाँचौँ सवालः जहाँ रहेपनि आफ्नो देश, माटो, भाषा र पहिचानप्रति समर्पित बनौँ।

हामी जापानमा छौँ भन्दैमा नेपालप्रतिको जिम्मेवारी समाप्त हुँदैन। आफ्नो काम इमानदारीपूर्वक गर्नु, परिवारको भविष्य सुरक्षित बनाउनु, नेपालको प्रतिष्ठा बढाउनु, मातृभाषा र संस्कृतिको संरक्षण गर्नु तथा देशको विकासमा आफ्नो क्षमताअनुसार योगदान पुर्‍याउनु पनि देशप्रेमका रूप हुन्।

देशप्रेम भाषण र नारामा मात्र होइन, हाम्रो आचरणमा देखिनुपर्छ। हामीले जापानमा गर्ने राम्रो काम, देखाउने इमानदारी र कायम गर्ने अनुशासनले पनि नेपालको पहिचान निर्माण गर्छ। विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपाल तथा नेपाली समुदायको हितमा प्रयोग गर्न सक्नु हाम्रो ठूलो उपलब्धि हुनेछ।

विदेशमा सफल हुनु भनेको पैसा कमाउनु वा व्यक्तिगत प्रगति गर्नु मात्र होइन। आफू बसेको समाजमा सम्मानपूर्वक बाँच्नु, अरूलाई सम्मान गर्नु, दुःखमा सहयोगी बन्नु र आफ्नो पहिचानप्रति गौरव गर्न सक्नु पनि सफलता हो।

जापानमा बस्ने हामी नेपालीले एउटा कुरा सधैँ सम्झनुपर्छ—हामी यहाँ आफ्नो भविष्य बनाउन आएका हौँ, तर हाम्रो व्यवहारले नेपाली समुदायको वर्तमान र भविष्य दुवैलाई प्रभावित गर्छ। त्यसैले अरूले नेपालीलाई कसरी हेर्छन् भन्ने गुनासो गर्नुअघि हामी आफैँले आफ्नो व्यवहार कस्तो बनाइरहेका छौँ भनेर आत्मसमीक्षा गरौँ।

हामी जहाँ छौँ, त्यहीँ असल उदाहरण बनौँ। विभाजन होइन, एकता रोजौँ। अपमान होइन, सम्मान बाँडौँ। निराशा होइन, आशा जगाऔँ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गरौँ।

किनकि विदेशमा हाम्रो परिचय केवल हाम्रो नामले होइन, हाम्रो व्यवहारले बन्छ। हामी असल बन्यौँ भने हाम्रो पहिचान बलियो हुन्छ, समुदाय बलियो हुन्छ र अन्ततः नेपालको प्रतिष्ठा पनि उँचो हुन्छ। आउनुहोस्, जापानमा बस्ने नेपाली समुदायलाई अनुशासित, सहयोगी, सभ्य, एकताबद्ध र प्रेरणादायी समुदायका रूपमा स्थापित गर्न आजैदेखि आफ्नो ठाउँबाट सकारात्मक सुरुवात गरौँ।         

हालः जापान 

प्रतिकृयाः [email protected]