झापा । 

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ । आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी इमानदार पहरेदार जनावर कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा दिई पूजा गरिन्छ भने सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिने गरिन्छ ।

आजका दिन सबै नेपालीका घरआँगनमा कुकुरलाई टीका तथा माला पहिर्‍याएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ। कुकुरको पूजा नगरी खाना खाएमा पापी  भइने शास्त्रीय मान्यता छ ।

धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ। आजको दिन कुकुरलाई सम्मान गर्नाले मृत्युपर्यन्त यमद्वारबाट मार्गप्रशस्त हुने पौराणिक विश्वास छ । द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको देहावसान भएपछि धर्मराज युधिष्ठिरलाई कुकुरले नै स्वर्गको ढोकासम्म पुर्‍याएको शास्त्रमा उल्लेख छ। ऋग्वेदमा पनि कुकुरहरूको आमा ‘समरा’ ले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग छ ।

भैरवको वाहनसमेत मानिने कुकुरलाई सुरक्षाकर्मी, आज्ञाकारी र गुनिलो जनावरका रूपमा लिइन्छ । कुकुरले सुँघेर अपराधी पत्ता लगाउने तथा विनाशकारी प्राकृतिक प्रकोप वा दैवी विपत्ति आउनु अगावै पूर्वसूचना दिने गर्दछ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । नरकबाट मुक्ति पाउनका लागि आज बिहान उज्यालो हुनुअघि शरीरमा तिलको तेल, सुगन्धित द्रव्य र चन्दन लगाएर ुतैलाभ्यङ्ग स्नानु गर्ने विधि छ । यस दिन तिलमा लक्ष्मी र जलमा गङ्गाको बास हुने भएकाले तिलको तेल दलेर स्नान गर्दा सम्पूर्ण पाप नाश भई नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता छ ।