झापा ।

 यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मनाइँदैछ। आज कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा खानाका परिकार दिएर मनाइँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा। तोयराज नेपालले बताए ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  त्यस्तै आज धार्मिक विश्वासअनुसार बली राजाको पनि पूजा आराधना गरिन्छ । 

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ । आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।