झापा । 

कात्तिक महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिकमा ६५ हजार ८०८ जना युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । 

कात्तिक महिनामा नेपालीका महान् पर्व बडादसैं, तिहार र छठ पर्व परे पनि रोजगारीका लागि ठुलै संख्यामा बाहिरिए । विभागको तथ्यांकअनुसार म्यानपावर कम्पनीबाट १६ हजार ६४३ र व्यक्तिगत ९ हजार ४७० जना नयाँ तथा पुनः श्रम स्वीकृति लिएका ३९ हजार १४८ र जिटुजीबाट ५२५ जना गएका छन् । 

अन्य महिना जस्तै कात्तिकमा पनि धेरै नेपाली युएई पुगेका छन् । युएईमा म्यानपावर कम्पनीबाट ७ हजार ९४७ जना जाँदा रिइन्ट्री १६ हजार ९१७ जना र व्यक्तिगत रूपमा १ हजार ९५८ जना गएका छन् । दोस्रोमा रहेको मलेसियामा ३ हजार ४०७ जना, तेस्रो कुवेत १ हजार ६२४ जना, चौथो कतारमा १ हजार ५३७ जना, साउदी अरेबिया ५१७ जना ओमानमा ४५७, साइप्रस ४४१, बहराइन २९४, जोर्डन २०७, जापान १८०, अल्जेरिया २०, मौरिसस ८, टर्की ३ र माल्दिभ्समा १ जना गएका छन् । 

युरोपेली मुलुकमा सिजनल भिसा भन्दै व्यक्तिगत रूपमा असुरक्षित रूपमा पठाउने र शरणार्थी आवेदन गर्न उक्साउने क्रम बढेको बताइएको छ । कात्तिकमा ४२ हजार ५७९ दक्ष, १४ हजार १९९ अदक्ष, ८ हजार ५४३ अर्धदक्ष र ३९३ जना व्यावसायिक क्षमताका जनशक्ति बाहिरिएका छन् । 

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सो अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेको संख्या तीन हजार ७५४ ले कम रहेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा २ लाख ७० हजार ५६ जना गएकोमा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा २ लाख ७३ हजार ८१० जना गएका छन् । यस वर्ष साउनमा ७० हजार ४४१ जना, भदौमा ६० हजार ४२ जना र असोजमा ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन् । 

यसैगरी कात्तिक महिनामा म्यानपावर कम्पनीमार्फत १६ हजार ६४३ जना पठाउँदा ६७९ जना पठाएको प्याराडाइज इन्टरनेसनल प्रालि पहिलो भएको छ भने ३४५ जना पठाएको एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालि दोस्रो र ३४२ जना पठाएको नीलकमल ह्युमन रिसोर्स प्रालि धेरै श्रमिक पठाउने कम्पनीको सूचीमा तेस्रोमा रहेको छ । कात्तिकमा २५ म्यानपावर कम्पनीले एक सय वा सो भन्दा बढी श्रमिक पठाएका छन् । v