झापा ।
गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणका क्रममा वैदेशिक रोजगार व्यवसायलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । गृहमन्त्री गुरुङले (युएई) भ्रमणका क्रममा वैदेशिक रोजगार व्यवसायलाई लक्षित गर्दै ‘म्यानपावरले मान्छे बेचेको’ अभिव्यक्ति दिएका थिए । संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) र महासचिव हिरा बहादुर डाँगी (हरि) ले बिहीबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
नेपाल सरकारसमक्ष करोडौं रुपैयाँ धरौटी राखेर विधिवत् रूपमा इजाजतप्राप्त गरी सञ्चालन भइरहेका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले श्रमिकको वैदेशिक रोजगारी सुनिश्चित गर्न आर्थिक, व्यावसायिक तथा संस्थागत जिम्मेवारी बहन गर्दै आइरहेको अवस्थामा लान्छना लगाउने काम भएको संघले जनाएको छ ।
गृहमन्त्री गुरुङको अभिव्यक्तिले व्यवसायी तथा समग्र क्षेत्रको प्रतिष्ठामा नकारात्मक प्रभाव परेको भन्दै संघले राज्यको जिम्मेवार निकायले इजाजतवाला संस्थालाई मान्छे बेच्ने संस्थाका रूपमा, श्रम गर्न जाने श्रमिकलाई बिक्री–वितरण हुने वस्तुका रूपमा र नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकलाई मान्छे बिक्री–वितरण हुने मुलुकका रूपमा अभिव्यक्ति दिएको विषयलाई आपत्तिजनक भनेको छ ।
वैधानिक प्रक्रियाबाट श्रम स्वीकृति लिई संस्थागत जिम्मेवारीसहित वैदेशिक रोजगारीमा जाने श्रमिक र व्यक्तिगत रूपमा भिजिट तथा अन्य भिसामा युएई पुगेर विभिन्न कारणले समस्यामा परी अलपत्र पर्ने व्यक्तिहरूको अवस्थालाई अलग–अलग रूपमा विश्लेषण गरी समाधान खोजिनुपर्ने माग संघले गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरीबाट जारी हुने श्रमिकको चारित्रिक प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयबाट समेत प्रमाणीकरण गरी पठाउँदा पनि युएईका सम्बन्धित निकायमा त्यसको स्वीकार्यता तथा विश्वसनीयतासम्बन्धी समस्या देखिएको संघले जनाएको छ । श्रमिकहरूले सामान्य प्रहरी रिपोर्टमा ठुलो रकम तिर्नुपरेको, तर त्यसमा सरकारले केही पहल नगरेको भन्दै आलोचनासमेत गरेको छ ।
वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, मर्यादित र श्रमिकमैत्री बनाउने कार्यमा सरकार र व्यवसायीबीच आपसी विश्वास, सम्मान र सहकार्य अपरिहार्य रहेको संघको ठहर छ । संघले वैदेशिक रोजगारका क्षेत्रमा रहेका विकृति तथा विसंगतिको निराकरण र राज्यका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्न व्यवसायी तत्पर रहेको संघको भनाइ छ ।
प्रतिक्रिया 0