दुधे। 

दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।  

एकपक्षीय खेलमा झापाले पोखरालाई दबाबमा राखेको थियो । खेल अवधिभर पोखराले झापाको पोस्टमा गोलको अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल पस्केको पोखराले दोस्रो हाफमा ८ गोल खाएको थियो । झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित ४, ममता राउतले २ तथा सेमिहाङमा लिम्बु, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले १–१ गोल गरे ।

झापाले पहिलो गोलका लागि खेलको ३६ औँ मिनेट पर्खिनु प¥यो । झापाका लागि पहिलो गोल सेमिहाङमा लिम्बुले गरिन् । अञ्जली चन्दले गरेको कर्नर प्रहारमा डि–बक्समा रहेकी उनले वान टचमा गोल गरिन् । ४१ औँ मिनेटमा झापाका लागि सजिना स्याङताङले गरिन् । २–० ले अगाडि रहेको झापाका लागि ५५ औँ मिनेटमा सजिनाले नै व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन् ।

६५ औँ मिनेटमा झापाका वैकल्पिक खेलाडी सञ्जु तामाङले मैदानको मध्यभागबाट सिंगल खेल्दै सुन्दर गोल गरिन् । ६६ औँ मिनेटमा सजिनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ७४ औँ मिनेटमा झापाका ममता राउतले गोल गरिन् । ७८ औँ मिनेटमा अर्को गोल थप्दै झापालाई बलियो अवस्थामा पु¥याइन् ।

ह्याट्रिक पूरा गरेकी सजिनाले ८० औँ मिनेटका अर्को गोल थपिन् । ८५ औँ मिनेटमा झापाका पुनम चेम्जोङले पोखराका खेलाडीबाट रिबाउन्स भएको बललाई डिबक्समा रहेकी चेम्जोङले गरेको कडा प्रहार गोल भएको थियो । खेलको अतिरिक्त समयमा अञ्जली चन्दले गोल गर्दै १०–० को अवस्थामा खेललाई पु¥याइन् ।

खेलको प्लेयर अफ द म्याच विजेता झापाकी सजिना स्याङताङ घोषित भइन् ।  उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाइन् । आइतबार विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच हुनेछ ।

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुन आर्मी एफसी र सशस्त्र प्रहरीको एपिएफ एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेनडर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैंयाँ पुरस्कार पाउनेछ ।  

उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले दुधे रंगशालालाई नगर गौरवको आयोजनाका रुपमा राखिएको बताए । उनले यस रंगशालालाई एकेडेमीका रुपमा विकास गर्दै महिला फुटबल खेलाडी उत्पादनको गन्तव्य बनाउने धारणा राखे । कार्यक्रम आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राको अध्यक्षतामा भएको थियो ।