बिर्तामोड । 

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी मंसीर १४ गते हुने निर्वाचनका लागि पारसमणि मैनाली नेतृत्वको प्यानलले  उम्मेद्वारी घोषणा  गरेको छ । बिर्तामोडमा शनिवार नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयुक्त रुपमा राष्ट्रवादी प्रजातान्त्रिक प्यानल खडा गरी उम्मेद्वारी घोषणा गरेका हुन् । 

प्यानलको अध्यक्षमा निवर्तमान सचिव पारसमणि मैनाली, उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिवमा खगेन्द्र थापा, कोषाध्यक्षमा आनन्द गुरुङले उम्मेद्वारी घोषणा गरेका छन् । यसैगरी सदस्यहरुमा विरणकुमार कोइराला, विकाश रिजाल र महिला सदस्यहरुमा कमला अग्रवाल, किरण सुब्वा र सोना श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । 

नेपाली कांग्रेस बिर्तामोेड नगर सभापति कुलप्रसाद संग्रौलाकोे सभापतित्वमा भएको उम्मेद्वारी घोषणामा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमले गरेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बिर्तामोड नगर सचिव आशिष बनले गरेका थिए । प्रमुख अतिथि शिवाकोटी, राप्रपाका नेता तथा कोशी प्रदेश पूर्वमन्त्री भक्तिप्रसाद सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

यस्तै अध्यक्ष पदका उम्मेद्वार मैनालीले सवै उपभोक्तालाई अत्याधिक मतदान गरी प्यानललाई नै बिजय गराइदिन आग्रह गरेका छन् । उनले आफुले दुई कार्यकाल सदस्य र यसअघिको समितिमा सचिवमा रहेर काम गरेको बताउँदै सवै मतदातालाई मतदान गरेर निर्वाचित गराइदिन अनुरोधसमेत गरेका छन् । 

कार्य समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका लागि निर्वाचन हुने भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेकोे निर्वाचन तालिका अनुसार मंसिर ७ गते उम्मेदवारी दर्ता रहेको छ भने मतदान मंसिर १४ गते हुनेछ । बिर्तामोड खानेपानीमा १० हजार ८३३ जना उपभोक्ता रहेका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।