- प्रकाश उप्रेती
मेचीनगर ।
झापाको मेचीनगरमा लागुऔषध दुर्व्यसन र चोरीका घटनाले स्थानीय बासिन्दाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । लागुऔषध प्रयोगकर्ताको संलग्नतामा घरभित्रै पसेर धनमाल चोरी गर्ने क्रम बढ्दै गएपछि स्थानीय त्रसित बन्न थालेका छन् । तर, चोरीका घटना नियन्त्रण गर्न र लागुऔषधको स्रोत पहिचान गर्न प्रहरीको प्रभावकारी अनुसन्धान नदेखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउन थालेका छन् ।
यसैको पछिल्लो उदाहरण हो, मेचीनगर–१४ प्रगति टोलस्थित युवराज–शान्ता उप्रेतीको घरमा भएको चोरी । शुक्रबार राति घरको झ्यालबाट भित्र पसेको चोरले दुईवटा काठका दराजको ताला फुटाएर सुन, चाँदी, नगद र खुत्रुकेसमेत चोरी गरेको पीडित परिवारले जनाएको छ ।परिवारका अनुसार एक तोला चार आना सुन, पाँच तोलाभन्दा बढी चाँदी, नगद २० हजार रुपैयाँ र खुत्रुकेमा रहेको रकम चोरी भएको छ ।
चोरीबाट तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको परिवारको भनाइ छ । स्थानीय मन्दिरमा आयोजित पालो कीर्तनको व्यवस्थापन गरेर परिवार घर फर्किएको करिब १५ मिनेटमै चोरी भएको थियो । छोटो समय घर खाली हुँदा चोरले घरभित्र प्रवेश गरेर दराजका ताला फुटाई धनमाल लिएर फरार भएको घटनाले टोलवासीलाई थप सशंकित बनाएको छ । चोरीपछि स्थानीय युवाहरूको संस्था युवा अभियान नेपालको अगुवाइमा खोजी सुरु गरिएको थियो । सोही क्रममा हडिया खोलातर्फ भाग्दै गरेको अवस्थामा चोरीमा संलग्न भएको आशंकामा एक राजवंशी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी चौकी चारआलीमा बुझाइएको थियो । प्रहरीले शनिबार पक्राउ परेका व्यक्ति र अन्य दुई शंकास्पद व्यक्तिका अभिभावकसँग छलफल गरेपछि उनीहरूलाई तारेखमा रहने गरी अभिभावकको जिम्मा लगाएको जनाएको छ । तर, चोरी भएको धनमालको अवस्था, घटनामा संलग्न व्यक्तिको भूमिका र चोरीको योजनाबारे अनुसन्धान कहाँ पुगेको छ भन्ने विषयमा स्पष्टता आउन बाँकी छ ।
स्थानीयले चोर समात्ने, प्रहरीले अनुसन्धान गर्ने कि ? मेचीनगरमा पछिल्लो समय मोबाइल, ल्यापटप, पानी तान्ने सिँचाइ मोटर, कलको हेड, पानीको पाइपमा जोडिएको मिटर, सुनचाँदीका गरगहना र नगद चोरी हुने घटना दोहोरिँदै आएका छन् । घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने प्रवृत्तिले सर्वसाधारणको सम्पत्तिसँगै सुरक्षाको अनुभूतिसमेत खोसिएको छ । चोरीका घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता रहेको स्थानीयको आशंका छ । लागुऔषधको लतमा फसेका केही व्यक्तिले पैसा जुटाउन चोरी तथा अन्य आपराधिक गतिविधि गर्ने गरेको स्थानीयको भनाइ छ । तर, यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान, लागुऔषधको स्रोत र कारोबारमा संलग्न सञ्जालसम्म पुग्ने गरी अनुसन्धान हुन नसकेको स्थानीयको गुनासो छ । स्थानीय युवाहरूको संस्था युवा अभियान नेपालले लागुऔषधको ओसारपसार तथा प्रयोग हुने आशंका गरिएका स्थानमा निगरानी बढाउँदै सचेतना र चेतावनीमूलक अभियानसमेत सञ्चालन गर्दै आएको छ ।
संस्थाले गलत गतिविधिमा संलग्न हुन सक्ने युवालाई दुर्व्यसनबाट टाढा राख्दै सभ्य र जिम्मेवार नागरिक बनाउन प्रेरित गर्ने, राम्रो काम गर्ने युवालाई प्रोत्साहन तथा पुरस्कृत गर्ने अभियान अघि बढाएको जनाएको छ । ‘मिनी पाकिस्तान’मा लागुऔषधको कारोबारबारे अनुसन्धान खोइ रुस्थानीयका अनुसार लागुऔषध प्रयोग गर्ने तीन जनाले धुलाबारीस्थित ‘मिनी पाकिस्तान’ भनिने क्षेत्रमा लागुऔषध खरिद गरेर ल्याउने गरेको बताउने गरेका छन् । यदि उनीहरूको भनाइ सत्य हो भने लागुऔषधको स्रोत र कारोबारको सञ्जाल पहिचान गर्नु प्रहरीका लागि गम्भीर अनुसन्धानको विषय हुनुपर्ने हो ।उक्त क्षेत्रमा लागुऔषधको कारोबार हुने गरेको स्थानीयको आरोप छ । कारोबारमा को संलग्न छन् ? लागुऔषध कहाँबाट भित्रिन्छ ? कसले बिक्री गर्छ ? प्रयोगकर्तासम्म कसरी पुग्छ ? यी प्रश्नको जवाफ खोज्ने जिम्मेवारी राज्यका सुरक्षा निकायको होइन र ? स्थानीयस्तरमा उक्त क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको आरोप उठिरहँदा प्रहरी प्रशासनले त्यसको वास्तविकता पत्ता लगाउन अनुसन्धान किन अघि बढाउँदैन भन्ने प्रश्नसमेत उठेको छ । तर, स्थानीयको आरोप वा आशंकाकै आधारमा कुनै व्यक्ति वा समुदायलाई दोषी ठहर गर्न मिल्दैन ।
निष्पक्ष अनुसन्धानबाट मात्रै वास्तविकता बाहिर आउन सक्छ । मेचीनगरमा चोरीका घटना दोहोरिने, लागुऔषध प्रयोगकर्ताको संख्या बढेको गुनासो आउने र स्थानीय आफैँले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउनुपर्ने अवस्था सिर्जना हुनु सामान्य विषय होइन । आखिर नागरिकको घर, सम्पत्ति र ज्यानको सुरक्षा गर्ने जिम्मेवारी कसको हो ? लागुऔषधको स्रोत पहिचान गरेर कारोबारको जालो तोड्ने जिम्मेवारी कसले लिने ? चोरीका घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीको अनुसन्धान किन प्रभावकारी हुन सकिरहेको छैन ? मेचीनगरवासीले अब आश्वासन होइन, परिणाम खोजिरहेका छन् । प्रहरी प्रशासन, स्थानीय सरकार र समुदायबीच प्रभावकारी समन्वय आवश्यक छ ।
प्रतिक्रिया 0