झापा । 

 साउदी अरबको रियादस्थित पब्लिक इन्भेस्टमेन्ट फन्डको ८० तले भवनमा भएको आक्रमणमा तीन जना नेपाली श्रमिक घाइते भएको पुष्टि भएको छ । रियादस्थित नेपाली दूतावासका अधिकारीहरूले साउदी अरबको विदेश मन्त्रालयले तीन जना नेपाली घाइते भएको पुष्टि गरेको बताएका छन् ।

रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको एक अग्लो भवनलाई लक्षित गरी मंगलबार दोस्रो पटक आक्रमण हुँदा ११ जना घाइते भएका थिए । घाइतेहरूको पहिचान सार्वजनिक गरिएको छैन । रियादस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत सिर्जना अधिकारीले आक्रमणका क्रममा घाइते भएका तीन नेपालीमध्ये दुई जनाको उपचार भइरहेको र एक जना उपचारपछि डिस्चार्ज भएको बताएकी छन् ।

साउदी नागरिक सुरक्षा निकायका अनुसार घाइते हुनेमा तीन जना नेपाली, दुई जना साउदी तथा भारतीय र इजिप्सियन नागरिक रहेका छन् । त्रासमा रहेका नेपालीहरूलाई दूतावासको सम्पर्कमा रहन आग्रह गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताएका छन् ।

पछिल्लो समय यमनबाट सञ्चालित हुथी लडाकु र साउदी अरबबीच तनाव बढ्दै गएको देखिएको छ । हुथी विद्रोहीहरूले साउदी राजधानी रियाद तथा लालसागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् । इरान र हुथी विद्रोहीहरूले अकस्मात् गर्ने आक्रमणका कारण नेपाली कामदारहरू आफ्नो सुरक्षालाई लिएर खासै चिन्तित नभएको बताइएको छ ।