२ दशक अगाडिको ब्लकबस्टर नेपाली फिल्मको नाम सापटी लिएर निर्देशक तुलसी घिमिरेले पार्ट टूु निर्माण गरे । तर, फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाउन सकेन ।
‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैगर्दा सहारा कार्कीलाई सफलता आफ्नै पोल्टामा हो भन्ने लागेको थियो । अभिनेत्री निरुता सिंहझैँ आफू पनि दर्शकको मनमा बस्न सफल हुनेमा उनी विश्वस्त थिइन् । तर, नतिजा उनले सोचेभन्दा विपरित आयो । उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । उनको अभिनय दर्शक र समीक्षकले रुचाए पनि फिल्मको असफलताले त्यसलाई ढाक्यो।
अभिनेत्री बन्न अमेरिकाबाट नेपाल आएकी उनी पहिलो फिल्म असफल भएपछि पुनः अमेरिका फर्किइन् । त्यसपछि उनले नेपाल फर्किएर नयाँ फिल्ममा काम गरेकी छैनन् । गत ९ महिनाअघि अमेरिकामा खिचिएको एक म्यूजिक भिडियोमा दर्शकले उनलाई देख्न पाएका थिए ।


















