बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाका तीनवटा वडा जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडकको औपचारिक उद्घाटन गरिएको छ । ७० करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सडकको कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।  विश्व बैंक र नेपाल सहरी शासकीय पूर्वाधार आयोजना कार्यालयको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक २०८० वैशाख २९ गतेदेखि निर्माण शुरु गरिएको थियो ।

निर्माण सम्पन्न भएपछि २०८३ जेठ २२ गते निर्माण पक्षले बिर्तामोड नगरपालिकालाई सडक हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको केही समयपछि नगरपालिकाले औपचारिक रूपमा उद्घाटन गरेको हो ।  ६ दशमलव २५ किलोमिटर लम्बाइको यो सडक बिर्तामोडका तीनवटा वडालाई जोड्ने महत्वपूर्ण पूर्वाधार आयोजना हो ।  सडक निर्माणले झापाको पूर्वी क्षेत्रसँगै इलाम, पाँचथर र ताप्लेजुङबाट आउने सर्वसाधारण तथा भारतीय पर्यटकलाई झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढी विमानस्थलसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सामरिक तथा व्यावसायिक दृष्टिले महत्वपूर्ण मानिएको सडक १२ फुट चौडाइको रहेको छ । सडकको दुवैतर्फ पानी निकासका लागि नाली, सडकबत्ती तथा पैदलयात्रीका लागि सहज हुने गरी पेटी निर्माण गरिएको छ । व्यवस्थित पूर्वाधारसहित सडक निर्माण भएपछि यस क्षेत्रको आवागमन, व्यापारिक गतिविधि र सहरी विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बिर्तामोड नगरपालिकाद्वारा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले अध्यक्षता गरेकी थिइन् ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सडक पूर्वाधार विकासले स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिलाई गति दिने बताए । उनले सडकको निर्माणसँगै यसको दीर्घकालीन संरक्षण र प्रभावकारी उपयोगमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल सहरी शासकीय पूर्वाधार आयोजना कार्यालयका निर्देशक लीला खतिवडा, नेकपा एमालेका देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दीपक दिनेश दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर ७ का अविरलकृष्ण खरेल, वडा नम्बर ३ का मदन बुढाथोकी, वडा नम्बर ४ का राहुल शर्मा, वडा नम्बर ५ का रोहित प्रसाईं, वडा नम्बर १० का दुर्योधन गुरुङ र वडा नम्बर २ का किशोर पौडेललगायत जनप्रतिनिधिको उपस्थिति थियो । त्यसैगरी स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर उपप्रमुख नागेन्द्रप्रसाद संग्रौलाले आयोजनाको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका आयोजना प्रमुख जय तिम्सिनाले गरेका थिए । बिर्तामोड नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक उच्च गुणस्तरका निर्माण सामग्री प्रयोग गरी आरपी÷साप÷समता जेभी, बिर्तामोड–३ ले निर्माण सम्पन्न गरेको हो ।  सडक सञ्चालनमा आएसँगै बिर्तामोडको सहरी यातायात व्यवस्थापन, स्थानीयको आवागमन तथा पूर्वी पहाडी जिल्लाबाट भद्रपुर र चन्द्रगढी विमानस्थलसम्मको पहुँच थप सहज हुने विश्वास गरिएको छ ।