बिर्तामोड ।
रिलिज मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा चलचित्रका अभिनेता आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका छन् । चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा अभिनेता जितु नेपालले चलचित्र जाँच पास समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै चलचित्रसँग जोडिएका धेरै विवादित विषय सम्बोधन भएको बताएका छन् ।
‘सेन्सरका क्रममा विज्ञ टोलीले चलचित्रको प्रशंसा गर्दै निस्सन्देह सबैले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गर्नुभएको छ,’ उनले भने, ‘भर्खरै सार्वजनिक भएको दोस्रो ट्रेलरले पनि चलचित्रको विषयवस्तुबारे धेरै कुरा प्रस्ट पारिसकेको छ, दर्शकले पनि यो कुरा बुझिसक्नुभएको छ भन्ने लाग्छ ।’ चलचित्रको अधिकांश छायांकन झापा र इलाममा गरिएको जानकारी दिँदै उनले पूर्वका दर्शकबाट चलचित्रलाई पूर्ण साथ मिल्ने विश्वास व्यक्त गरे । धार्मिक आस्थाप्रति आफूहरू सचेत रहेको उल्लेख गर्दै उनले विवादित विषयलाई लिएर चलचित्र नहेरी धारणा नबनाउन आग्रह गरे ।
‘विवादको जुन विषय छ, पूरा चलचित्र हेरिसकेपछि दर्शकलाई पक्कै लाग्छ-यो कुनै विवादको विषय नै होइन,’ उनले भने । अभिनेता आर्यन सिग्देलले आफ्नो करिअरका सुरुवाती चलचित्रलाई पूर्वका दर्शकले दिएको माया स्मरण गरेका छन् । पूर्वको दर्शकको साथ र मायाले धेरै कलाकारलाई स्टार बनाएको उनको भनाइ रहेको छ ।
पछिल्लो समय फरक–फरक पात्रमा अभिनय गर्ने आफ्नो रुचि पूरा हुँदै गएको बताउँदै आर्यनले ‘पाँच पाण्डव’को आइडिया र पात्रबारे सुनेपछि नै चलचित्रमा जोडिने निर्णय गरेको बताए । ‘चलचित्रको आइडिया र क्यारेक्टर सुन्दै मन परेको थियो । त्यसैले म यसमा जोडिएँ,’ उनले भने । चलचित्रमा एक्सन, रोमान्स र कमेडीलगायतका मनोरञ्जनात्मक पक्ष समेटिएको पनि उनले बताए । चलचित्रसँग जोडिएको विवादबारे बोल्दै उनले हलमा प्रदर्शन नै नभई पूर्वानुमानका आधारमा धारणा बनाउनुभन्दा एकपटक चलचित्र हेरेर प्रतिक्रिया दिन उपयुक्त हुने बताए ।
त्यस्तै, अभिनेत्री इभा गिरीलाई ‘द्रौपदी’का रूपमा प्रस्तुत गर्दै क्यासिनोमा नचाइएको विषयले विवाद सिर्जना गरेको प्रसङ्गमा आर्यनले चलचित्र वास्तविक महाभारतको कथा नभएको स्पष्ट पारे । ‘पहिलो कुरा, यो रियल महाभारतको कथा होइन, यो पाँच पाण्डवको कथा हो । त्यसैले कुनै पात्र द्रौपदीजस्तो लाग्नु स्वाभाविक हो, तर चलचित्रमा त्यस्तो छैन,’ उनले भने ।
निर्माण पक्षका अनुसार चलचित्रमा ‘युधिष्ठिर’ पात्र आफ्ना भाइहरूको खोजीमा निस्किएको कथा प्रस्तुत गरिएको छ । यात्राका क्रममा विभिन्न पात्रलाई आफ्नै भाइ सम्झिने अवस्थामार्फत चलचित्रले दाजुभाइबीचको सम्बन्ध र वर्तमान समाजमा देखिएका विविध समस्यालाई उठान गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल झापाकी उपाध्यक्ष सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा चलचित्र टिमका समीर नेपाल, पिज्जा घरका सञ्चालक तथा कलाकार याम खरेललगायतको उपस्थिति थियो ।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ । नवीन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा कालीरानी श्रेष्ठको लगानी छ । सुशील पौडेलको लेखन, श्याम तामाङको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
प्रतिक्रिया 0