अभिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । नेपाली फिल्मका चर्चीत अभिनेताको नामलाई लिएर निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नामक फिल्म बनाउन लागेका हुन् ।
फिल्ममा अतिथी भूमिकामा अभिनेता हमाल पनि रहने तयारीमा निर्माण टिम लागेको छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भने नभएको बताइएको छ । ।फिल्मको नामको विषयमा पनि राजेश हमालले बिहीवार आफ्नो निधो दिने जनाइएको छ । विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।
अभिनेता हमालको नाम मात्र फिल्मको हो तर, निर्माता भुषालले फिल्म राजेश हमालको जीवनीमा आधारित नहुने बताए ।
फिल्म उनको जीवनीसँग मेल खाने खालको भएको बताउँदै जीवनी नै बनाउन नलागेको उनको भनाई थियो । आगामीे भदौ २० गते धनगडीबाट छायांकन शुरु गरिने भएको छ । फिल्ममा अतिथी भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि अफर गरिएको छ । अभिनेता हमालको नाममा पहिलो पटक फिल्म बन्न लागेको भने होइन । यसअघि पनि उनको नाममा फिल्म बनिसकेको छ ।


















