झापा ।

 इलामको दुई स्थानीय तहमा गरिएको अध्ययन अनुसार नेपालमै दुर्लभ चरा फेला परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका विभिन्न क्षेत्रमा कोसी वर्ड सोसाइटीको अगुवाइमा गरिएको अध्ययनले इलाममा दुर्लभ चरा फेला परेका हुन् ।

कन्याम र कुटीडाँडा क्षेत्रमा तीन दिनसम्म अध्ययन गर्दा नेपालमै दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा फेला परेको जनाइएको छ । नेपालमै दुर्लभ मानिएको वन टिकटिके, रातो ढाँडे पुष्प कुकील, ठूलो निलतवा, ससीया, चाँदी काने मेसीया, लालपुच्छ्रे मिल्ला लगायत प्रजातिका चरा फेला परेको कोसी वर्ड सोसाइटीका अध्यक्ष सन्जीव आचार्यले जानकारी दिए ।

उनका अनुसार वन टिकटिके प्रजातिको सानो चरा नेपालमा दुर्लभ मानिन्छ । उक्त चरा कन्याममा फेला परेको हो । त्यस्तै, नेपालमै अति दुर्लभ मानिएको रातो ढाँडे पुष्प कुकील पहिलो पटक रोङ गाउँपालिकाको कुटीडाँडा क्षेत्रमा फेला परेको आचार्यले जानकारी दिए । टोलीले अध्ययनका क्रममा ५०–६० प्रजातिका चरा फेला पारेको छ ।

कोसी वर्ड सोसाइटीका अध्यक्ष आचार्य सहित सोसाइटीका सहसचिव तथा नेचर गाइड चक्र तिम्सिना, वाइड लाइफ फोटो ग्राफर (वर्ड वाचिङ) सन्जय श्रेष्ठ र फोटो पत्रकार तथा वन्यजन्तु संरक्षण अभियान्ता देवेन्द्र खरेल सहितको टोलीले रोङ गाउँपालिकाको कुटीडाँडा लगायतका क्षेत्र र सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा तीन दिनसम्म अध्ययन गरेको थियो ।

वन टिकटिके, रातो ढाँडे पुष्प कुकील प्रजातिका चरा पूर्वी नेपालमा मात्र पाइने उक्त टोलीले जनाएको छ । यी चरा गर्मीयाममा पहाड र जाडो याममा तराई झर्ने गरेको अभियन्ता देवेन्द्र खरेलले जानकारी दिए ।

अभियन्ता खरेलले इलाम जिल्ला स्वदेशी पर्यटकको गन्तव्य भए पनि विदेशी पर्यटक भित्राउने माध्यम चरा भएको बताए । चरा पर्यटनका लागि विदेशी पर्यटक आकर्षित भएकाले चराको गणना गरी प्रचारप्रसार गर्नुपर्ने उक्त टोलीले जनाएको छ ।

उक्त टोलीले इलाम जिल्लामा करिब चार सय ५० प्रजातिका चरा रहेको जनाएको छ । हाल कोसी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषले चराचुरुंगीको संरक्षण गर्दै आएको छ । आरक्षमा पाँच सय ३१ प्रजातिका चरा रहेका छन् भने नेपालमा आठ सय ८८ प्रजातिका चराचुरुंगी रहेको जनाइएको छ ।